सोलुखुम्बु – नेकपा एमाले कोशी प्रदेश कमिटीले सोलुखुम्बु संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी महेश किराँतीलाई दिएको छ । प्रदेश कमिटीले पार्टीको प्रदेश कमिटी सदस्य किराँतीलाई इन्चार्ज र अर्का सदस्य सुर्य कुमारी सुनुवारलाई सहइन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।
जिल्लाको प्रदेश सभा ‘क’को इन्चार्जमा सांसद बुद्धि कुमार राजभण्डारी र सहइन्चार्जको जिम्मेवारी पार्वती राईलाई प्र्रदान गरेको छ । यस्तै प्रदेश सभा ‘ख’को इचार्जमा उत्तम बस्नेत र सहइन्चार्जको जिम्मेवारी डिबी रानापाललाई प्रदान गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो । यद्यपि राजभण्डारी र बस्नेतको निर्वाचन क्षेत्र भने फरक परेको देखिएको छ ।
अध्यक्ष बास्तोलाका अनुसार गत कार्तिक २१ गते बसेको एमाले प्रदेश कमिटीले बैठकले गरेको उक्त निर्णय अनुसार आईतबार अन्तरकमिटी निर्देशन जारी गरेको हो । जिम्मेवारी प्राप्त नेताहरुले पार्टीको संगठन निर्माणमा भुमिका खेल्ने जनाइएको छ । सोही बैठकले प्रदेश सांसद एवं पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारीलाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।
यसँगै एमाले प्रदेश कमिटी सदस्यमा सोलुखुम्बुका ९ जना भएका छन् । यसअघि गत कार्तिक १२ र १३ गतेको प्रदेश कमिटी बैठकले सोनाम ग्याल्जेन शेर्पा, महेश किराँती, उत्तम बस्नेत, डिबी रानापाल, सुर्य कुमारी सुनुवार, टासी ल्हामु शेर्पा, पार्वती राई र चरित्र बहादुर भुजेललाई प्रदेश कमिटीमा मनोनित गरेको थियो । पार्टीको विधान अनुसार एमालेको जिल्ला कमिटी अध्यक्ष पदेन सदस्य हुने व्यवस्था रहेको छ ।