सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीका स्थानीय तथा बसोबास गर्ने अन्य नागरिकहरुले देउसी-भैलो खेलेर संकलन गरेको साडे ४४ हजार रकम जाजरकोट भुकम्प पीडितलाई सहयोग गरेको छ । सल्लेरीका करिब २५ जनाले देउसीभैलो खेलेर संकलन गरेको ४४ हजार ५ सय नगद आज मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो ।
उनीहरुले चाडपर्वमा संस्कृति संरक्षण गर्ने उदेश्यका साथ सल्लेरी क्षेत्रमै खेलेको देउसीभैलोको रकमले भुकम्प पीडितलाई थोरै भएपनि राहत हुने सोचका साथ प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीमार्फत पीडितलाई पठाइएको एक सदस्य जुनुमाया तामाङले बताउनुभयो ।
उहाँका अनुसार भुकम्पका कारण जाजरकोटा र पश्चिम रुकुम लगायतका स्थानमा धेरै जनधनको क्षति भएकाले सहयोगका लागि आफुहरुले थोरै भएपनि इटा थप्ने काम गरेको उहाँको भनाई छ । राहत रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।
भुकम्पका कारण देश नै समस्यामा रहेकाले एक नागरिकको दुःखमा अर्काले देखाएको सहयोगले ठुलो अर्थ राख्ने बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेसहित राष्टिय अनुसन्धान कार्यालय सोलुखुम्बुका प्रमुख सुवास भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल लगायत कार्यालयका अन्य कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिती थियो ।
गत कार्तिक १७ गते मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुममा गरि सयौँको ज्यान गएका छन् भने दर्जनौ घाईते भएका थिए । भुकम्पका कारण ९ हजार भन्दा बढी घर पूर्णरुपमा भत्किएको छ भने २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।