सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’का अवसरमा बिदा दिएको छ ।
माघ २८ गते पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।
यसअघि रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने घोषणा गरिसकेका छन् ।
यता सर्वोच्च अदालतले भने संविधानले ‘जनयुद्ध’ शब्द नचिन्ने उल्लेख गरेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाविरुद्ध दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो ।