सोलुखुम्बु – सोलुखुम्बुको केदार माध्यमिक विद्यालय नेचासल्यान गाउँपालिका–४ को ६३ वर्षीक उत्सव तथा २७ औँ अभिभावक दिवस सकिएको छ । विद्यालयले आईतबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले केदार माविको शैक्षिक प्रगतीबाट अन्य विद्यालयहरुले पनि सिक्नुपर्ने बताउनुभयो । ग्रामिण भेगका विद्यालयहरुले पनि चहाने हो भने परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण केदार माविले प्रस्तुत गरेको उहाँको भनाई छ ।
उक्त विद्यालयलाई गत वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले जिल्लाकै उत्कृष्ट घोषणा गर्दै १४ लाख ५० हजार नगदसहित पुरस्कृत गरेको थियो । गाउँपालिका अध्यक्ष धनजन राईले विद्यालयको प्राविधिक शिक्षालाई थप व्यवस्थित गराउन स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।
जसका लागि सबैको साथ सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । उपाध्यक्ष विना राईले हरेक शैक्षिक कृयाकलापमा केदार माविले नविन सुरुवात गरेको बताउनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबैसँग हातेमालो गर्न आवश्यक रहेको उहाँको जोड छ । कार्यक्रम विव्यस अध्यक्ष हेमराज कट्टेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।