सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणकर्ताबाट खुम्बु पासाङल्हामू गाउँपालिकाले छ करोड भन्दा धेरै राजस्व सङ्कलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो आठ महिनामा विदेशी पर्यटक प्रवेश शुल्कबाट रू छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको हो । उक्त अवधिमा ३१ हजार सात सय २५ जना विदेशी नागरिकले सगरमाथा क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याङ्क छ ।
साउन महिनामा तीन सय २३ जना, भदौमा एक हजार सात सय नौ जना, असोजमा एक हजार आठ सय दुई जना, कार्तिकमा ११ हजार छ सय तीन जना विदेशी भ्रमणका लागि खुम्बु पुगेका छन् । यस्तै मङ्सिरमा दुई हजार आठ सय जना, पौषमा एक हजार तीन सय दुई जना, माघमा छ सय दुई जना र फागुनमा दुई हजार पाँच सय ८४ जना विदेशी पर्यटकले सो क्षेत्र भ्रमण गरेको गाउँपालिकाका लेखा अधिकुत चेतनाथ कटेलले जानकारी दिनुभयो ।
उक्त पालिकाले स्थानीय शुल्क स्वरुप प्रति विदेशी पर्यटक दुई हजार रुपैयाँ प्रवेश दस्तुर लिने गरेको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड निषेध गर्दै गाउँपालिकाले २०७४ साउनदेखि शुल्क उठाउन शुरु गरेको थियो । त्यस अघि नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)ले टिम्स कार्डबापत प्रतिपर्यटक रु दुई हजार शुल्क लिँदै आएको थियो ।
गाउँपालिकाले लिएको शुल्कले पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वधार निर्माणलगायत काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथासहित थामसेर्कु, कोङ्दे, आमादब्लमलगायतका हिमशृङ्खला खुम्बु पासाङल्हामू गाउँपालिका भित्र पर्छ ।