सोलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले “प्रथम अध्यक्ष कप” अन्र्तगत भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुद विकास समिति ऐसेलुखर्कको आयोजनामा यही वैशाख २६ गतेदेखि अन्तरपालिका स्तरीय महिला तथा पुरुष भलिबल खेलको आयोजना गरेको हो ।
राष्ट्रिय खेल भलिबलको विकास, विस्तार तथा नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उदेश्यका साथ “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप” भलिबल प्रतियोगिता २०८० को आयोजना गरेको थियो । विविध कारणवश उक्त समयमा स्थगित भएको सो प्रतियोगिता पुरस्कार राशी समेत थप गर्दैै यही वैशाख २६ देखि २९ सम्म आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने महिला तथा पुरुष टिमले समान रुपमा क्रमशः नगद २ लाख, १ लाख, ५० हजार र २५ हजारको साथमा सिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने खेलकुद विकास समिति अध्यक्ष रजिन राईले जानकारी दिनुभयो ।
खेलमा विधागत पुरस्कारतर्फ महिला/पुरुष दुवैलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्रको व्यवस्था गरिएको छ । गाउँपालिकाको खेल मैदानमा हुने उक्त प्रतियोगिताका लागि वैशाख २५ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्न सकिने छ भने दर्ता शुल्क महिला पुरुष दुवैका लागि समान ५ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।