सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित गौरीटाप सहकारी संस्था लिमिटेडको २८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी स्थित जिल्ला समन्वय समिति हलमा आज शुक्रबार उक्त सभा सम्पन्न भएको हो ।
सभामा आर्थिक वर्ष २०७९ /८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रामचन्द्र कार्कीले सहकारी संस्थाको महत्व र भूमिकाको पहिचान गरि स्थापना र सञ्चालन गर्ने नेतृत्वकर्ता अभियान्ता दत्त सिं कार्की र नर बहादुर कट्वाल लगायत सम्पूर्ण सियर सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
त्यस्तै उहाँले कर्मचारी टिमले नैतिक, भौतिक, बौद्धिक र इमान्दारीतापूर्वक सहकारी संस्थालाई सबल र सबैको विश्वासिलो संस्था बनाएको बताउनुभयो । सहकारी संस्थाले बेरोजगार १० जना नेपाली नागरिकहरुलाई आवश्यक सिप सिकाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने सोलु दधकुण्ड नगरपालिका वडा नं ११ तिङ्ला रमितेमा सहकारी कृषि साप्ताहिक हाट बजार सञचालन गरि स्थानीय कृषि तथा पशुजन्य वस्तु बजारको प्रबन्ध गरि अप्रत्यक्ष रुपमा सैंयौले रोजगार पाएका छन् ।
उक्त संस्थाले गाउँगाउँबाट स–सानो बचत संकलन गर्दै निष्कृय रहेको पूजीलाई पूजी निर्माण गरि व्यापार व्यवसाय, कृषि तथा पशुपालन, अटो, घरजग्गा खरिद र बैदेशिक रोजगारमा लगानी गरि गाउँकै श्रोतसाधनको प्रभावकारी प्रयोगमा लगानी गरेको, क्लब वा समुहबाट आयोजना हुने खेलकुद तथा सास्कृतिक र सामाजिक मठ मन्दिर निर्माण तथा सियर सदस्य वा बचतकर्ताको आकस्मिक मृत्युमा राहात कोष मार्फत सहयोग गर्दै आएको अध्यक्ष कार्कीको भनाई छ ।
उहाँका अनुसार जिल्लाकै पहिलो ०१ /२०५२/०५३ सालको दर्तावाल सहकारी संस्था २३/२४ वर्ष गाउँमा नै सिमित भएता पनि नगरपालिकामा समाहित भएपछि पुजी वृद्धि गरि नगरभित्र कार्यक्षेत्र विस्तार गरेर शहरमा सेवा दिन सक्षम र सियर सदस्यहरुको भरोसायोग्य संस्था हुन सफल भएको छ ।
उहाँले सोलुमा दर्ता भएका अन्य ९० /९५ हाराहारीको संख्यामा रहेका अन्य सहकारीको कारोबार र पुँजीको हिसाबले सबैभन्दा पुछारमा रहेको सहकारीले कोभिड, आर्थिक मन्दि र देशका प्रमुख शहरमा सहकारी संस्थाको अनियमितता, बदनामीका बाबजुद पनि सहज रुपमा विगत झै कारोबार गर्दै जिल्लकै एक नम्बरको संस्था बनाएको बताउनुभयो ।
अध्यक्ष कार्कीले सो सभाबाट बचतकर्ता सदस्यहरुलाई प्रिमियम ब्याज ४ लाख ६८ हजार ६ सय ४३ रुपैया कारोबार रकमको आधार र असल ऋणीलाई प्रोत्साहनको लागि २ प्रतिशत सहुलियत रकम उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । संस्थाको वित्तिय विवरणको तथ्याक अनुसार आर्थिक वर्ष २०७४/७५ मा सियर सदस्य ४ सय ८ जना थिए भने आर्थिक वर्ष २०७९/८० मा ३ हजार १ सय १५ रहेका छन् ।
त्यस्तै २०७४/७५ मा सियर पुँजी १० हजार ७ सय ६०, नाफा नोक्सानमा ५ सय नोक्सान, बचत ०, कर्जा लगानी १० हजार ७ सय, सहकारी सम्बन्धि प्रोभिजनल काषहरु ०, चलअचल सम्पति १२ हजार ७ सय ६० र बैंक ब्यालेन्स ० रहेको थियो भने २०७९/८० मा सियर पुँजी ६९ लाख ३९ हजार ३ सय ३, नाफानोक्सानमा ९ लाख ३१ हजार ५ सय ५३, बचतमा ४ करोड ७७ लाख २४ हजार ५ सय ३३ दशमलव ५१, कर्जा लागानी ५ करोड ८६ लाख ९२ हजार २१ दशमलव ६८, सहकारी सम्बन्धि प्रोभिजनल कोषहरु ३१ लाख १७ हजार ७ सय २९ दशमलव ६७, चलअचल सम्पति ५ करोड ८३ लाख २८ हजार ८ सय ६३ र बैंक ब्यमलेन्स ३९ लाख १७ हजार ८ सय ९४ रुपैँया रहेको छ ।