सोलुमा ज्वरो र झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढ्यो

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ज्वरो र झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेको छ । पछिल्लो केही दिनयता जिल्लाका अस्पतालहरुमा यस्ता प्रकृतिका मौसमी बिरामीको संख्या बढ्न थालेको स्वास्थ्य संस्थाहरुले जनाएको छ ।

अस्पतालको तथ्यांक अनुसार गर्मी मौसम सुरु भएसँगै जिल्ला अस्पताल फाप्लु, प्राथमिक अस्पताल सोताङ, दुधकोशी सामुदायिक अस्पताल मुक्ली, प्राथमिक स्वास्थ्य केन्द्र नेचा, महाकुलुङ प्राथमिक अस्पताल लगायतमा झाडापखाला र ज्वरोका बिरामीको संख्या अधिक रहेका छन् ।

१५ बेड क्षमता स्विकृत जिल्ला अस्पताल फाप्लुमा अहिले दैनिक करिब १८/२० जना बिरामी मौसमजन्य समस्याका कारण भर्ना हुने गरेको अस्पतालका निमित्त प्रमुख डा. प्रसान्त शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालको ओपिडीमा ज्वरो, आँखाको गेडी दुख्ने र झाडाबान्ताको समस्या लिएर आउने बिरामीको संख्या धेरै रहेका छन् । जसमा दैनिक आधा दर्जन बिरामी भर्ना नै गरेर उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

मौसमी फ्लुका बिरामीहरुमा धेरै जसो बालबालिका तथा दिर्घरोग भएका बृद्धबृद्धाहरु रहेको अस्पताल प्रमुख डा. शाहले बताउनुभयो । यस्तो बेला झोलिलो खानेकुरा तथा सुपहरु प्रसस्त मात्रामा खान, पानी उमालेर मात्रै पिउन तथा सरसफाइमा बिशेष ख्याल गर्न चिकित्सकको सुझाव छ ।

हाल जिल्लामा डेंंगुसँग मिल्दोजुल्दो लक्ष्यण भएका बिरामीहरु धेरै भएपनि हालसम्मको नमुना परिक्षणमा कुनै पुष्टि नभएको स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

यद्यपि सम्भावित जोखिमलाई ख्याल गर्दै कार्यालयले परिक्षण किटहरुलाई पर्याप्त व्यवस्थापनका साथ तयारी गरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार