जलवायु परिवर्तनको असर अध्ययन गर्ने हब बन्दै सोलुखुम्बु बहुमुखी क्याम्पस

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु जलवायु परिवर्तनको असर अध्ययन हबको रुपमा विकास हुने भएको छ । जिल्ला सदरमुकाम सल्लेरीमा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसलाई जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने स्टेशनको रुपमा विकास गर्ने तयारी गरिएको हो ।

क्याम्पसले आयोजना गरेको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले सगरमाथा अवस्थित जिल्लामा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसलाई जलवायु परिवर्तनको असरबारे अध्ययन गर्ने स्टेशनको रुपमा विकास गर्ने बताउनुभयो । जलवायु परिवर्तनका कारण हिमालहरुमा निरन्तर असरहरु देखिएकाले त्यसको अध्ययन र अनुसन्धानका लागि बहुमुखी क्याम्पसलाई थलो बनाउने उहाँको भनाइ छ ।

जलवायु परिवर्तन अध्ययनका लागि विश्वविद्यालय अनुदान आयोगले त्रिभुवन विश्वविद्यालयका लागि यस वर्ष ५ करोड रुपैयाँ अनुदान छुट्याएको जनाएको छ । सोही अध्ययनका लागि आवश्यक ल्याबहरु निर्माणका लागि १० करोड रुपैयाँ लगानी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । पर्यटनविद् आङ छिरिङ शेर्पाले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रहरुमा निरन्तर देखिएपनि यसको अध्ययन अनुसन्धानमा ढिलाइ भइसकेको बताउनुभयो ।

हिमतालहरु निरन्तर मासिँदै गएकाले यसको प्रत्यक्ष असर मानव तथा प्राणी जगतमा पर्ने भएकाले असर न्यूनिकरणमा विश्वविद्यालयहरुको ध्यान केन्द्रित हुनुपर्ने उहाँको सुझाव छ । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले जिल्लाको शैक्षिक योगदानमा सोलुखुम्बु बहुमुखी क्याम्पसको भुमिका अतुलनीय रहेको दाबी गर्नुभयो ।

ग्रामिण भेगका निम्न आय भएका विद्यार्थीहरुको उच्च शिक्षाको सारथी बन्नमा क्याम्पस सफल भएकाले यसको महत्व र आवश्यकता अझ बढ्दै गएको उहाँको भनाइ छ । सोलुदुधकुण्ड नगरपालिकाले उच्च महत्वका साथ सहयोग गरिरहेको स्मरण गराउँदै नगरप्रमुख शेर्पाले क्याम्पसमा जलवायु परिवर्तनको असर बारे अध्ययन गर्ने स्टेशन बन्ने हो भने विश्वको ध्यान यहाँ केन्द्रित हुने बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशसिं कार्कीले क्याम्पसको बृहतर हितका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । हिमाली जिल्लाको शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेलिरहेको क्याम्पसलाई सहयोग गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव कुमार शर्माले जलवायु परिवर्तनका असर अध्ययन गर्ने थलोका रुपमा अब क्याम्पसलाई विकास गर्ने बताउनुभयो । जसबाट विश्वका विद्यार्थीलाई यहाँ केन्द्रित गर्नमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभरका क्याम्पसहरुमा विद्यार्थी संख्या घट्दो क्रममा रहेपनि आफ्नो क्याम्पसमा विद्यार्थी निराशाजनक नरहेको उहाँको भनाइ छ ।

जसका लागि शिक्षाको गुणस्तर अभिवृद्धिमा क्याम्पस कटिबद्ध रहेको प्रमुख शर्माले बताउनुभयो । उद्घाटन कार्यक्रममा नगरउपप्रमुख गान्धी माया तामाङ, विश्वविद्यालय अनुदान आयोग प्रशासन महाशाखाका निर्देशक राममणी गौतम, सेनानी नवराज बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, बौद्ध र वातावरण अध्ययन व्यवस्थापन समितिका सदस्य लक्ष्मी अवाल, क्याम्पस सञ्चालक समिति सदस्य गीता घिमिरे, विभिन्न वडाका अध्यक्षसहितका जनप्रतिनिधिहरु लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो ।

विश्वविद्यालय अनुदान आयोगको ५० लाख रुपैयाँ अनुदानमा क्याम्पसले एक तलाको २ कोठे पक्की आरसिसि भवन निर्माण सम्पन्न गरेको छ । एएसबी कन्ट्रक्सन एण्ड सप्लायर्सले भ्याटसहित ४५ लाख ५२ हजार २४५ रुपैयाँ ७७ पैसामा निर्माण जिम्मा पाएको उक्त भवन गत गत कार्तिक १५ गतेबाट काम सुरु गरि गत फागुन मसान्तमा सम्पन्न गरेको थियो ।

करिब ३ आना क्षेत्रफलमा बनेको सो भवन माथि पनि संरचना थप्न सकिने जनाइएको छ । भवन निर्माणका लागि विश्वविद्यालय योजना आयोगले एक करोड रुपैयाँ अनुदान स्विकृत गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार