सोलुखुम्बु । सोलुखुम्बुको गार्मा माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका–७ ले विज्ञान सामाग्री प्रदर्शनी गरेको छ । विद्यालयका विद्यार्थीले व्यवहारिक शिक्षा अभ्यासको क्रममा निर्माण गरेका विभिन्न विज्ञान सामाग्रीहरु आज एक कार्यक्रमका बिच प्रदर्शन गरेको हो ।
विद्यालयका कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीहरुले तयार गरेका ३३ प्रकारका विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको प्रधानाध्याकप विनोदसिं तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शन गरिएका सामाग्रीहरुमा थ्रिडि होलोग्राम, बज वयर गेम, डे एण्ड नाइट सेन्सर स्ट्रिट ल्याम्प, होम सेग्रेटरी मोडल, वाटर लेबल एण्ड रेण्डीटेक्टर, रिमोट कन्ट्रोल कार लगायत रहेका छन् ।
जसका लागि विद्यालयले विभिन्न १८ ग्रुपमा विद्यार्थी विभाजन गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जिल्लाको नमुना विद्यालयको रुपमा रहेको गार्मा माविले हरेक कार्य नमुनाको रुपमा प्रस्तुत गरिरहेको बताउनुभयो ।
विद्यालयको गतिविधिलाई अघि बढाउन हरेक कार्यका लागि स्थानीय तहले निरन्तर सहयोग गरिरहेको उहाँको भनाइ छ । मुलुकभरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या खस्कदो भइरहेको परिपेक्षमा गार्मा माविमा विद्यार्थीको आर्कषण अधिक हुनु सुखद रहेको नगर प्रमुख शेर्पाले बताउनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले गार्मालाई नमुना विद्यालय बनाउनमा नगरपालिकाले गरेको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिमा आफुहरु कसिएर लागि परेकाले सहयोगका लागि सबै पक्षसँग उहाँले आवहान गर्नुभयो ।
गार्माले विज्ञानको क्षेत्रमा पनि फड्को मार्ने अभियानमा जुटेकाले निकट भविष्यमा यसको नतिजा देखिने अध्यक्ष शेर्पाको भनाइ छ । कार्यक्रममा नगरउपप्रमुख गान्धीमाया तामाङसहित अन्य जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थिती रहेको थियो ।