सोलु प्रहरीले गर्‍यो नागरिक सुनवाइ कार्यक्रम

  हिमाल समाचार
133 Shares

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नागरिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले आज आइतवार फाप्लु्मा चालु आर्थिक वर्षमा भएका घटनाहरुको संयुक्त विवरणहरु प्रस्तुतसहित नागरिक सुनाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुदै सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङले हरेक नागरिक विना बर्दीका प्रहरी भएकाले अपराध निर्मुल पार्न प्रहरीको मात्रै नभइ अन्य नागरिकको पनि भुमिका उतिकै जिम्मेवार हुने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे(खत्री)ले नेपाल प्रहरी हरेक संकट तथा कठिन परिस्थितीमा पनि नागरिकसँगै रहेको बताउनुभयो । नागरिकको जिउधनको रक्षा गर्नमा प्रहरी अहोरात्र खटिरहेकाले अपराध शान्ति सुरक्षा र अमन चयनका लागि हरेक नागरिकले प्रहरीसँग हातेमालो गर्न उहाँले आवाह्न समेत गर्नुभयो ।

नागरिक स्तरबाट उठेका जिज्ञासाका जवाफ दिदै सोलुखुम्बु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेले जिल्लामा अपराधिक मनसाय बोकेका व्यक्तिहरुको प्रहरीले उच्च निगरानी गरिरहेको बताउनुभयो । नागरिकलाई सुरक्षा दिने मुख्य जिम्मेवारी बोकेको प्रहरीले आफुलाई जोखिममा राखेरै भएपनि नागरिकको जिउधनको सुरक्षामा सधै तल्लिन रहेको उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा चालु आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनामा कमी आएको तथ्यांक सार्वजनिक गराइएको छ । प्रहरीको सकृयता र नागरिकको सहयोगका कारण यस वर्ष सवारी दुर्घटनाबाट जिल्लाले कुनै मानविय क्षतिको सामना गर्न नपरेको डिएसपी घिमिरेले बताउनुभयो ।

सहभागीको तर्फबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुका माया तामाङले गाउँघरमा घटेका घटनाहरुमा संलग्न व्याक्तिहरुलाई कठघरामा छिटो उभ्याइदा पीडितलाई न्याय पाएको आभास हुने तर्क गर्नुभयो । कार्यक्रममा जिल्ला स्थित तिनै तहका सुरक्षा निकायका प्रमुखहरु, अन्य जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीयवासी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार