सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–७ गार्माले जिल्लामै पहिलो पटक वडा स्तरीय वडाध्यक्ष रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वडा कार्यालयले आज सोमवार पत्रकार सम्मेलनको आयोजना गरि आगामी असोज ३ गतेदेखि ५ गतेसम्म उक्त प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
जिल्लाको इतिहासमै पहिलो पटक हुन लागेको उक्त जिल्ला व्यापी वडा स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा पुरस्कार राशी समेत आर्कषक राखिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु एक लाख एक हजार १००, ७५ हजार १०० र ५० हजार १०० को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी गराउनुभयो ।
यस्तै सान्त्वना हुने टिमलाई नगद २५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ । यस्तै विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजारको साथमा ट्रफी र प्रमाण–पत्र, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, डिफेन्टर र नव उदयमान खेलाडीलाई नगद २/२ हजारको साथमा ट्रफी र प्रमाण–पत्रको व्यवस्था रहेको कार्यक्रम संयोजक एवं वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो ।
गार्मा माविको खेलमैदानमा हुने उक्त खेलमा टिम दर्ता शुल्क नगद पाँच हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । खेलकुद क्षेत्रको विकासका लागि प्रोत्साहन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा बताउनुभयो ।
खेलकुदको माध्यमबाट पनि समाजलाई रुपान्तरण गर्न सकिने भएकाले यसलाई वडाले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।