सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको कोशी पारिको क्षेत्र जुबुमा केन्द्रीय प्रसारण लाइन बलेसँगै स्थानीयवासीमा खुसीयाली छाएको छ । गाउँपालिका अध्यक्ष असिम राईको विशेष सकृयतामा करिब एक हप्ताको प्रयासमै आज बुधवारबाट विकट जुबु गाउँ केन्द्रीय लाइनमा जोडिएसँगै स्थानीयबासीमा हर्ष छाएको हो ।
साविक जुबु गाविस वडा १, २, ३, ४ र ९ क्षेत्रका करिब नौ सय घरधुरी आजबाट केन्द्रीय विद्युतको पहुँचमा पुगेका छन् । वर्षौदेखि विद्युतको समस्याका कारण आजित भएका जुबुवासीमा केन्द्रीय लाइनले खुसी बनाएको स्थानीय इन्द्र बहादुर गुरुङले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष असिम राई, प्रवक्ता भोजराज कार्की, वडाध्यक्ष श्यामकुमार गुरुङ, समाजसेवी भानुभक्त उपाध्याय लगायतको निरन्तरको पहलमा एक हप्तामै विद्युत बलेको स्थानीयवासी बताउछन् ।
सुरुवातमा सोलार जडान भएको सो क्षेत्रमा पेल्ट्रिकसेट, माइक्रो हाईड्रो हुँदै अहिले केन्द्रीय लाइनको पहुँचमा पुगेको छ । पेल्ट्रिकसेट र माइक्रोहाइड्रोको विद्युत स्थिर नहुँदा आजित भएका जुबुवासीले केन्द्रीय लाइन पुगेसँगै नयाँ युगमा प्रवेश गरेको आभास भएको स्थानीय ज्ञान बहादुर भारतीले बताउनुभयो ।
विद्युतकै कारण जुबु डाँडाखर्कमा रहेको टेलिकमको टावरमा समस्या आउँदा पटक पटक नेटवर्क डाउन हुने समस्याको पनि अन्त्य भएको स्थानीय बताउछन् ।
साथै विद्युत स्थिर भएसँगै बलंगामा रहेको टेलिकमको फोरजी लाइन समेत सुचारु हुने भएकाले सञ्चार सेवा समेत भरपर्दो हुने उनीहरुको विश्वास छ । यससँगै जुुबुमा विभिन्न उद्योग तथा व्यवसायहरु समेत फस्टाउने अपेक्षा गरिएको पुर्ववडाध्यक्ष नातिकाजी गुरुङले बताउनुभयो ।