सोलुखुम्बु । नेपाल भारत मैत्री संघ जिल्ला शाखा सोलुखुम्बुको अध्यक्षमा कर्मा शेर्पा चयन हुनुभएको छ । आज विहीवार संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले जिल्ला अध्यक्षको जिम्मेवारी शेर्पालाई प्रदान गर्नुभएको हो ।
नवनियुक्त अध्यक्ष शेर्पालाई जिल्ला शाखा विस्तार गर्ने सन्दर्भमा विधानको परिधिमा रहेर आवश्यक पर्ने ५१ सदस्यीय जिल्ला कार्य समिति गठन गर्न समेत जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । यस अघि संघको जिल्ला अध्यक्षमा कांग्रेस नेता गणेश बहादुर बस्नेत रहनुभएको थियो ।
उहाँलाई संघको सल्हाकार समितिमा मनोनयन गरिएको बताइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको नेपाल भारत मैत्री संघको हाल मुलुकको ७३ जिल्लामा विस्तारित शाखा रहेको छ ।
नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’का सभापति समेत रहनुभएका नवनियुक्त अध्यक्ष शेर्पा सामाजिक क्षेत्रमा सकृय हुनुहुन्छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु निवासी शेर्पा हिमाली सञ्चार लिमिटेडका सञ्चालक समिति सदस्य समेत हुनुहुन्छ ।