सोलुखुम्बु । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसँग सम्बन्धित एजेण्डाहरु एकत्रित गराएर ल्याउन आग्रह गर्नुभएको छ । आज शुक्रवार नेपाली कांग्रेसको पर्यटन विभागले केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।
उहाँले लोकतान्त्रिक पर्यटन व्यवसायी संघको हरेक एजेण्डहरु पार्टीको पर्यटन विभाग मार्फत एकत्रित ढंगबाट आएको खण्डमा कार्यन्वयन गर्न सहज हुने धारणा राख्नुभयो । साथै अन्य पर्यटन व्यवसायी तथा संगठनहरुको मागहरु समेत छुट्टाछुट्टै आउनु भन्दा एकत्रित ढंगबाट आउदा उत्तम हुने समेत मन्त्री पाण्डेले बताउनुभयो ।
मुलुकको पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि सबै पर्यटन व्यवसायीहरुसँग छलफल गर्ने योजना रहेकाले त्यसका लागि पार्टीको पर्यटन विभागलाई थप क्रियाशिल बनाउने समेत मन्त्री पाण्डेले प्रतिबद्धता जनाउनुभयो । मुलुकबाट रोजगारका लागि विदेशीने जशक्तिलाई देशमै रोक्न पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउनुको विकल्प नरहेकाले यसको बृहत्तर विकासमा आफुहरु लागि पर्ने उहाँले बताउनुभयो ।
यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले पार्टीको पर्यटन विभागले व्यवसायी र सरकारलाई जोड्ने पुलको काम गर्ने बताउनुभयो । आफुहरु पर्यटन क्षेत्रको उन्नत विकासलाई केन्द्रमा राखेर अघि बढेकाले सबै व्यवसायीहरु गोलबन्द्ध हुन समेत उहाँले आवहन गर्नुभयो ।
कांग्रेस पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाको अध्यक्षता तथा पर्यटनमन्त्री बन्द्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा लोकतान्त्रिक पर्यटन व्यवसायी संघसंस्थाहरुको उपस्थिती रहेको थियो ।