थुलुङ दुधकोशीले सुरु गर्‍यो कफी प्रशोधन

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु, मङ्सिर १२ । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले कफी प्रशोधन सुरु गरेको छ । आफ्नो क्षेत्रको अर्गानिक कफीलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यका साथ पालिकाले मंगलबारबाट कफी प्रशोधन सुरु गरेको हो । परिक्षण प्रशोधन सफल भएकाले अब व्यवसायीक प्रशोधन गरिने गाउँपालिकाले जनाएको छ ।

थुलुङ दु्धकोशीमा वार्षिक करिब १० टन कफी उत्पादन हुने अपेक्षा गरेको छ । जसमा करिब ४ टन पालिका आफैले सुरु गरेको सङ्कलन केन्द्रमा जम्मा गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले कफी प्रशोधनका लागि ग्लेशियर ट्रस्ट युके र इको हिमाल नेपालसँगको सहकार्यमा पालिका केन्द्र मुक्लीमा प्रशोधन उद्योग नै सञ्चालनमा ल्याएको हो । उक्त उद्योगले दैनिक २०० देखि २५० किलोसम्म कफी प्रशोधन गर्ने जनाइएको छ ।

यस अघि यहाँ उत्पादन भएका कफीको नमुनाहरु विश्वका विभिन्न बजारमा पु¥याएर परिक्षण गर्दा उत्कृष्ट भएपछि आफुहरु कफीको व्यवसायीक उत्पादन गरी बजारीकरणमा लागेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । “यहाँ उत्पादन भएको कफी विश्व बजारमा पु¥याएर परिक्षण गर्दा उत्कृष्ट भएको प्रमाणित भएपछि हामी यसको व्यवसायिक खेतीमा जुटेका छौँ । यसले यहाँका किसानको जिवनस्तर उकास्नेमा हामी ढुक्क छौँ र सहयोगका लागि पालिकाको किसानको साथमा छ ।” अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाले कफी खेतीका लागि वार्षिक बजेटमै समावेश गरी किसान समुह तथा फमहरुलाई अनुदान समेत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राईको नेतृत्वमा यो योजना अघि बढिरहेको यो योजना गाउँपालिकाको आर्थिक विकासमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । युवा र विकासप्रेमी नेताका रूपमा परिचित अध्यक्ष राईले कृषिमा आधारित योजनाहरूलाई प्राथमिकतामा राख्दै किसानहरूको जीवनस्तर उकास्ने लक्ष्य राख्नुभएको छ ।

यस योजनाअन्तर्गत किसानहरूको कफि उत्पादनलाई प्रोत्साहन गर्न समर्थन मूल्य तोकिएको छ । समर्थन मूल्यमा किसानबाट सबै कफी सङ्कलन गरिसकिएको छ । गुणस्तरीय प्याकेजिङ गरी डेनमार्क, अष्ट्रेलिया, अमेरिका लगायतका मुलुकको बजारमा पठाउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । थुलुङ दुधकोसीका किसानले लामो समयदेखि जैविक विधिबाट कफि उत्पादन गर्दै आएका छन् ।

अब, यस उत्पादनलाई गाउँपालिकाले विशेष ब्रान्डिङमार्फत स्थानीय पहिचानको रूपमा प्रस्तुत गर्न चाहेको उहाँको भनाइ छ । यो कफी उच्च गुणस्तरीय र अर्गानिक भएकाले अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हुने विश्वास गरिएको छ । यस परियोजनाले कृषि क्षेत्रमा आर्थिक क्रान्ति ल्याउने र किसानलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका पालिकाको विश्वास छ ।

साथै, गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा पनि यसले योगदान पु¥याउने अपेक्षा गरिएको छ । कृषि, पर्यटन, र उद्यमशीलताको समन्वयले थुलुङ दुधकोशीको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउने पालिकाको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार