सोलुखुम्बु उद्योग वाणिज्य संघको चौँथो जिल्ला अधिवेशनको तयारी पुरा

  हिमाल समाचार
175 Shares

सोलुखुम्बु, मंसिर १२ । सोलुखुम्बु उद्योग वाणिज्य संघको चौथो ऐतिहासिक जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोली बिहीबार बिहान ९ बजे उद्घाटन हुने उक्त अधिवेशनको सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष रामलाल श्रेष्ठका अनुसार अधिवेशनको लागि मञ्च व्यवस्थापनदेखि सजावटका काम सम्पन्न भइसकेका छन् । कार्यक्रममा सहभागीहरूको सहजताका लागि आवश्यक सबै तयारी संघका सदस्यहरुले पुरा गरिसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उद्घाटन समारोहमा सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्य रहनेछ । साथै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ , प्रमुख जिल्ला अधिकारीसहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडा अध्यक्षसहितका अन्य जनप्रतिनिधिहरु विशेष उपस्थिति रहनेछ ।

झण्डै १२ वर्षपछि हुन लागेको यस जिल्ला अधिवेशनलाई व्यवसायीहरुले निक्कै महत्वका साथ हेरेका छन् । जसका लागि आर्थिक सहयोग संकलनदेखि अन्य सहयोगहरु समेत उत्साहपुर्ण रुपमा जुटिरहेको आर्थिक सहयोग संकलन समितिका संयोजक किशोर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा जिल्लाभरका व्यवसायी, स्थानीय सरोकारवाला, र संघका सदस्यहरूको व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ । स्थानीय व्यवसायीहरूले यो अधिवेशनले व्यवसायिक समस्याहरू समाधान गर्दै नयाँ योजना अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

संघका पदाधिकारीले यो अधिवेशनले सोलुखुम्बुको व्यवसायिक क्षेत्रमा नयाँ नेतृत्वसहित दिगो योजना तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रम स्थललाई बेहुलीजस्तै सिंगारिएको छ । यो ऐतिहासिक अधिवेशनले व्यवसायिक क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार