सोलुखुम्बु, बैशाख ११ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले विदेशी पर्यटकबाट १३ करोड बढी राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/ ८२ को साउनदेखी हालसम्ममा १३ करोड १४ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त राजस्व सार्क राष्ट्र र अन्य राष्ट्रका विदेशी पर्यटकबाट संकलन भएको पालिकाका लेखा अधिकृत चेतनाथ कटेलले बताउनुभयो ।
सगरमाथा क्षेत्रको भ्रमणमा आएका ४६ हजार २ सय ७८ जनाबाट राजस्व संकलन गरिएको हो । पालिकाले सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति २ हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ३ हजार पर्यटन शुल्क लिदै आएको छ ।
पालिकाले दिएको जानकारी अनुसार साउनमा २ सय ५१, भदौमा १ हजार ४ सय ५७, असोजमा ८ हजार ७ सय ७०, कार्तिकमा १२ हजार ९ सय २९, मंसिरमा ३ हजार २ सय ६९ र पुसमा १ हजार ४ सय २० जना पर्यटक पालिका भित्रिएका छन् ।
यस्तै माघमा ९ सय १, फागुनमा २ हजार २ सय ५४, चैतमा १० हजार ५ सय ६० र बैशाखको हालसम्म ४ हजार ४ सय ६७ जना पर्यटक पालिका भित्र प्रवेश गरेका छन् ।
विदेशी रसिद संख्या १३ हजार २ सय ५२, सार्क रसिद संख्या २ हजार १ सय ५०, विदेशी ट्रेक कार्ड संख्या २५ हजार ५ सय ९६ र सार्क ट्रेक कार्ड संख्या ५ हजार २ सय ८० रहेको पालिकाको तथ्यांकमा उल्लेख गरिएको छ ।