सोलुखुम्बु, वैशाख १५ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। सगरमाथा क्षेत्रमा भएको यो बेमौसमी हिमपातका कारण पर्यटक र स्थानीयवासी दुवै प्रभावित भएका छन्।
खुम्बु क्षेत्रमा रहेका ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्र र सगरमाथा क्षेत्रमा गएका थुप्रै पर्यटक समस्यामा परेका छन्।
उहाँले भन्नुभयो, “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक सम्पर्कविहीनसमेत भएका छन् तर संख्या अझै यकिन भइसकेको छैन।”
स्थानीयवासी सांगे शेर्पाले बेमौसमी हिमपातका कारण स्थानीय जनजीवनमा समेत असर परेको बताउनुभयो । हिमपात अझै नरोकिएकाले स्थिति थप जटिल बन्ने अनुमान गरिएको छ। यसैबीच सगरमाथा क्षेत्रमा ट्रेकिङमा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन्।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन्।
“उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा इन्ट्री हुनुभएको थियोे । त्यसपछि सम्पर्कमा आउनुभएको छैन,“ अध्यक्ष शेर्पाले बताउनुभयो।
उहाँका अनुसार हालैको हिमपातका कारण खोजतलास कार्यमा समेत समस्या आएको छ। उद्धार प्रयास जारी रहे पनि मौसम प्रतिकूल रहेकाले कठिनाइ भएको जनाइएको छ।
एसपीसीसीले बेमौसमी हिमपातका कारण सगरमाथा आरोहण कार्य समेत प्रभावित भएको जनाएको छ। आरोहणका लागि उच्च क्याम्पतर्फ जानुपर्ने तर हिमपातले बाटो अवरुद्ध भएका कारण धेरै आरोहीहरु आधार शिविरमै रोकिएका छन्।
प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाइएको छ।