सोलुखुम्ब, बैशाख २२ । घरेलु तथा साना उद्योग विकास कार्यालय सोलुखुम्बुले हालसम्म ५४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ५४. १५ प्रतिशत अथार्त कुल बजेटको १ करोड ३६ लाख २३ हजार ७ सय ११ रुपैयाँ मात्रै खर्च गरेको हो ।
कार्यालयलाई चालु आर्थिक वर्षमा चालु र पुजीँगत शिर्षकमा कुल २ करोड ५१ लाख ५७ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय बजेट शिर्षकमा पुजीँगतमा १९ लाख ५० हजार मध्ये १८ लाख २५ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको छ ।
चालुमा १ करोड १२ लाख ७९ हजार रकम विनियोजन भएकोमा ५४ लाख ८३ हजार २ सय ३४ रुपैयाँ खर्च भएको कार्यालय प्रमुख नारायण प्रसाद खतिवडाले बताउनुभयो ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्ति कार्यक्रमको लागि पुजीँगत तर्फ ४० लाख विनियोजन भएको रकम खर्च हुन सकेको छैन ।
यस्तै चालु तर्फ ७९ लाख २८ हजार रुपैयाँ विनियोजन भएकोमा ६३ लाख १४ हजार ९ सय ८० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । बाँकी रहेको रकम भने ३ महिनाको अवधीमा खर्च गर्न सक्ने सम्भावना कम देखिएको छ ।