हिमाली जिल्ला सोलुखुम्बुमा लोप हुने क्रममा चौरीपालन पेशा

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु, बैशाख २६ । केही दशक अघि हिमाली खर्कहरूमा चौँरी गोठ र पाखाहरूमा टन्न देखिने चौँरीहरु पछिल्लो समयमा हिमाली जिल्ला सोलुखुम्बुमा लोप हुने क्रममा रहेको छ । चौँरीपालन व्यवसाय कुनै समय जीविकोपार्जन गर्ने मुख्य पेशाको रूपमा रहे पनि अहिले आएर त्यस पेशामा युवा पुस्ताले चासो नदिनु र राज्यको नजरमा यो पेशा नपर्नुले पनि चौँरीपालन पेशा हुने क्रममा रहेको हो ।

केही वर्ष अघिसम्म जिल्लाको पिके क्षेत्रमा सयौँको संख्यामा हुने चौँरीगोठ अहिले ८–१० वटामा सीमित छ । पिके क्षेत्रमै वर्षौँदेखि चौँरीपालनमा आबद्ध रहेका कृषकहरू राज्यले चौँरीपालन व्यवसायमा उचित किसिमको अनुदान, बिमा र उत्पादित वस्तुहरूलाई उचित मूल्यमा बिक्री वितरण गर्ने बजार व्यवस्थापन नगरेकै कारण चौँरीपालन पेशा संकटमा परेको बताउँछन्।

अहिले पिके क्षेत्रमा चौँरीको दुध बजारमा प्रतिलिटर १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ भने सोही दूध सरकारी डेरी दूध विकास संस्थान लैनचौरको अधीनमा रहेको डेरीमा प्रति लिटर ६५ रुपैयाँ मात्रै दिने गरेको कृषकहरूको गुनासो रहेको छ ।

दिनमा २० लिटर दूध बाहिरी बजारमा बिक्री गर्दा तीन हजार कमाइ हुने भए पनि सरकारी डेरीमा पु¥याउँदा २० लिटर दुधको मूल्य १३ सय मात्रै पाउने गरेको कृषकहरूको गुनासो छ। प्रत्येक दिन दूध बजारमा बिक्री गर्नलाई पनि उपभोग गर्ने उपभोक्ता नरहेका कारण कम मूल्य नै आए पनि सरकारी डेरीमै पु¥याउनु पर्ने कृषकको बाध्यता छ ।

वर्षमा ६ महिना मात्र दूध उत्पादन हुने चौँरी गोठमा सोही दूधको समेत उचित मूल्य नपाउँदा चौँरीगोठका कृषक यो पेशा चटक्क भुलेर अन्य नै पेसा व्यवसायमा लाग्ने गरेको पाइन्छ ।

चौँरीपालन व्यवसायमा अन्य पेशामा भन्दा निकै कठिन कार्य भएको कारण युवा पुस्ताले यो पेशालाई अँगाल्न इन्कार गरिरहेका चौँरी कृषकहरू बताउँछन्।

राज्यको नजर यस्ता व्यवसायमा नजाँदा विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य पेशा चौँरीपालन र पर्यटन रहे पनि अहिले आएर यी दुवै संकट उन्मुख रहेका छन्। चौँरी पालन एउटा व्यवसाय मात्र नभएर हिमालको सौन्दर्यको रूपमा पनि रहेको पाइन्छ ।

दिनप्रतिदिन विश्व नजिकिँदै जानु र मानिसहरूको इच्छा आकांक्षा र चाहना बढ्दै जानले शेर्पा समुदायको पुख्र्यौली पेशा अर्थात् हिमालको व्यवसाय चौँरीपालन क्रमशः कम लोप हुँदै गएको छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय र अन्य समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको चौँरीपालन पेशामा युवा पुस्ताको ध्यान नजाँदा अब चौँरीपालन दन्त्यकथामा सीमित हुने अवस्थामा पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार