विश्व बैङ्कबाट ९८२ थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त

  हिमाल समाचार
84 Shares

काठमाडौँ- विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपालले प्राप्त गरेको हो ।

कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने विश्व बैङ्कले जनाएको छ ।

प्राप्त अक्सिजन कन्सन्ट्रेटर देशका सातै प्रदेशमा आवश्यकताअनुसार उपलब्ध गराइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बताए। देशका सबै सार्वजनिक स्वास्थ्य संस्थामा अक्सिजनको उपलब्धता बढाउने गरी क्षमता विस्तारमा सरकार लागिरहेको पनि उनले जानकारी दिए ।

उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको विश्व बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्नेछन् ।

विश्व बैङ्कले कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग पु(याइरहेको विश्व बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार