‘एभरेष्ट भ्यू ट्रेल म्याराथन’को उपाधि अर्जुन र सविनालाई

  हिमाल समाचार
42 Shares

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न  `एभरेष्ट भ्यु ट्रेल म्याराथन´ प्रतियोगिताको उपाधी‘एभरेष्ट भ्यू ट्रेल म्याराथन’को उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ  सविना राईले चुमेका छन् ।

बुधवार सम्पन्न ४७ किलोमिटर दुरीको म्याराथन प्रतियोगितामा कुलुङ र राईले उपाधि जितेका हुन् । अर्जुनले निर्धारित दुरी ४ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा र सविनाले ६ घण्टा ९ मिनेट १० सेकेण्डमा दुरी पार गरेका थिए ।

उक्त प्रतियोगिता बुधवार बिहान ७ बजे  गाउँपालिकाको रगंशालाबाट सुरु भएको थियो । प्रतियोगितामा पुरुषतर्फ होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भएका छन्, भने ५ घण्टा १ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै सुमन खालिङ तेस्रो भएका छन् ।

 महिलातर्फ ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा दुरी पुरा  गर्दै निर्मला राई दोस्रो भइन भने ६ घण्टा ४० मिनेट ३५ सेकेण्डमा पार गर्दै लाक्पा निङ्मा शेर्पा तेस्रो भएकी छिन् ।

यस्तै ३० देखी ३९ वर्षको उमेर समूहमा पुरुषतर्फ जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र  टिकामान राई क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । सोही उमेर समुहमा अनिता राई, सुस्मा राई र आङ छुटिङ शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन ।

यस्तै १८ देखी २९ वर्ष उमेर समूहका पुरुष तर्फ प्रथम द्वितीय र तृतीय हुने धावकहरू क्रमशः गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेत रहेका छन्, भने महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीहरू क्रमशः हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राई रहेका छन् ।

 यस्तै ५० देखी ६५ उमेर समूहको पुरुष तर्फको अन्तबिर राई, काजीमान राई र भीम बहादुर तामाङ क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।

तीन वटै उमेर समूहका महिला र पुरुष दुवैतर्फका प्रथम हुनेलाई २०/२० हजार, द्वितीयलाई १५/१५ हजार र तृतीयलाई १०/१० हजार नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यस्तै सबै उमेर समूहमध्ये समग्रमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने महिला र पुरुष दुवैतर्फका प्रतिस्पर्धीलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा २ सय ३ जना धावकहरूले सहभागिता जनाएको आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार