सगरमाथा क्षेत्र भ्रमणकर्ताबाट एकै महिनामा २ करोड बढी राजस्व संकलन

  सुस्मा बस्नेत
448 Shares

सोलुखुम्बु – विश्वको सर्वाेच्च शिखर सगरमाथा भएको सुन्दर पर्यटकीय स्थल सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्ने पर्यटकको सङ्ख्यामा ८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तुलनामा असोजमा खुम्बु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८६ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार भदौमा १ हजार ३ सय २४ पर्यटक सगरमाथा क्षेत्र पुगेका थिए भने असोजमा ९ हजार ८ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले ८ हजार ४ सय ८६ ले र प्रतिशतको हिसाबले ८६.५ प्रतिशतले बढी हो । असोजमा खुम्बु पुग्ने पर्यटक मध्ये ८ हजार ५ सय ५१ विदेशी र १ हजार २ सय ५९ नेपाली रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो ।

जसबाट निकुञ्जले एकै महिनामा २ करोड १० लाख ५४ हजार ४ सय ७ रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको सुचना अधिकारी मण्डलले बताउनुभयो । त्यस्तै साउन महिनामा भने २ सय ८ पर्यटक खुम्बु भित्रिदा ६ लाख ५६ हजार २ सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय, अन्य मुलुकका पर्यटकबाट ३ हजार, र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिना श्रावन, भाद्र र असोज सम्ममा ११ हजार ३ सय ४२ पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । जसमा १ हजार ४ सय ५९ नेपाली, १ हजार ४ सय १९ सार्क मुलुकका र ८ हजार ४ सय ६४ अन्य मुलुकका विदेशि पर्यटक रहेका छन् । जसबाट २ करोड ५१ लाख ५ हजार ८ सय ९२ रुपैया ४ पैसा राजस्व सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार