सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

  हिमाल समाचार
14 Shares

सोलुखुम्बु – सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस सर्वोच्च शिखर सगरमाथाको फेदीमा मनाउने भएको छ । आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथा क्षेत्रमै मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमनत्री हितबहादुर तामाङले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले यो वर्ष सगरमाथाको फेदीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताउनुभयो । यद्यपि, सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ ।

उक्त समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिव रहेका छन् । समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । दिवस तयारी उपसमितिले काम गरिरहेको छ । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरुको समन्वयमा कार्यक्रम गरिनेछ । पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म आठ हजार हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार