महिलाहरु निर्णायक तहमा पुग्नुको विकल्प छैन : कांग्रेस सहमहामन्त्री उपाध्याय

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना)ले महिलाहरु समान रुपमा निर्णायक तहमा पुग्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाल महिला संघ सोलुखुम्बुले सल्लेरीमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान, खुला छात्रा वक्तृत्वकला प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

जबसम्म महिला नितिगत तथा निर्णायक तहमा पुग्ने सकिन्न तबसम्म देशले मुहार नफेर्ने उहाँले ठोकुवा गर्नुभयो । समाजको हरेक तह र तप्कामा महिलाको भुमिका अतुलनीय भएपनि महिला नै पछि पर्नु बिडम्बना भएको सहमहामन्त्री उपाध्यायको भनाइ छ । महिलालाई ३३ प्रतिशत मात्र नभइ बराबरको सहभागीता सुनिश्चित गर्न पार्टी तथा नेताहरु लाग्नुपर्ने उहाँको जोड थियो ।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाले नेपालमा महिला सशक्तिकरणको सुरुवात कांग्रेसले गरेको दाबी गर्नुभयो । महिलाहरुलाई अधिकार स्थापित गर्ने सवालमा कांग्रेससँग कुनै पनि दलको तुलना हुन नसक्ने उहाँको भनाइ थियो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले प्राप्त उपलब्धिको संरक्षण गर्ने दायित्व महिलाको कादमा आएको बताउनुभयो ।

मुलुकको हरेक नेतृत्व र कामहरु महिलाले गर्दा कुशल र सफल ढंगबाट सम्पन्न गरेको इतिहास भएकाले अब प्राप्त उपलब्धिहरुलाई जोगाउन महिला अघि बढ्नुपर्ने उहाँको तर्क थियो । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले कांग्रेसले मुलुक रुपान्तरणका लागि सुरु गरेको हरेक अभियानमा महिला संघ र महिला नेतृहरुको भुमिका उच्च रहेको भन्दै प्रसंशा गर्नुभयो ।

महिलाहरुलाई अधिकार दिने पार्टी नै नेपाली कांग्रेस भएकाले कांग्रेसले सधै महिलालाई न्याय गर्ने उहाँको भनाइ छ । यस्तै हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले समाजमा महिलाको भुमिका एकहोरो नभएको बताउनुभयो । समाजमा पुरुषको तुलनामा महिलाको भुमिका तथा जिम्मेवारी बढी हुने उहाँको भनाइ थियो ।

महिलाहरु क्षमताको हिसाबले अत्यन्त सक्षम र सबल रहेकाले समाजको हरेक कार्यमा महिलाको भुमिकालाई थप सशक्त बनाउनुपर्ने नगर प्रमुख राईको जोड छ । महिला संघ सोलुखुम्बुका अध्यक्ष सरला राईले महिलालाई सशक्तिकरण गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

महिला सशक्त भए मात्र रुपान्तरण र विकासले फड्को मार्ने भएकाले अधिकार स्थापित गर्न र सशक्त हुन आफैँबाट सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा अन्य विभिन्न नेता तथा नेतृहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार