संसद् भवनबाट फर्किए प्रधानमन्‍त्री ओली

  हिमाल समाचार
49 Shares

काठमाडौँ — प्रधानमन्‍त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट फर्किएका छन् ।

आइतबारका लागि आह्वान भएको प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका हुन् ।

संसद्‌बाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले अदालतको फैसला पूर्ण कार्यान्वयन गर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

४ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतबार) का लागि फागुन १४ गते संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका थिए । सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै फागुन ११ गते प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुन:स्थापना गरेको थियो ।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो । सोही बमोजिम मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले बैठक आह्वान गरेकी थिइन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखले राष्ट्रपतिद्वारा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री र गृहमन्त्रीले विभिन्‍न अध्यादेशहरु पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार