१० बुँदे सहमतिका विषयमा छलफल गर्दै माधव नेपाल पक्ष

  हिमाल समाचार
42 Shares

काठमाडौं- विघटित कार्यदलले प्रस्तुत गरेको १० बुँदे सहमतिका विषयमा छलफल गर्न नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बसीरहेकाे छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बैठक भइरहेको स्थायी कमिति सदस्य रघुजी पन्तले जानकारी दिए ।

सो पक्षको स्थायी कमिटी बैठक हिजो आइतबार पनि बसेको थियो । हिजोको बैठकमा सो पक्षबाट कार्यदलका संयोजक भीमबहादुर रावलले १० बुँदे सहमतिको बुँदाबारे बैठकमा ब्रिफिङ गरेका थिए। उनको ब्रिफिङपछि सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेकाले आजको बैठकमा पनि नेताहरुले आफ्ना राय सुझावको क्रम जारी राखेकाे नेता पन्तले बताए ।

वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको दिल्लीमा रहनुभएकाले उनको धारणा भौतिकरुपमा लिन नसकिए पनि भर्चुवल रुपमा लिने काम भइरहेको नेताहरुले बताएका छन । वरिष्ठ नेता खनाल पनि पार्टी एकताको पक्षमा रहनु भएपनि एकता हुँदा समान हैसियतको कुरा उठाउँदै आएका छन । नेता नेपालले पनि पार्टीको माथिल्लो तहदेखि तल्लो तहसम्म समान हैसियतको माग गरेकाे बुझिएको छ ।

सो पक्षबाट कार्यदलमा नेता रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र भीमप्रसाद आचार्य रहेका थिए। १० बुँदे सहमति भएपछि एमालेले कार्यदल विघटन गरिसकेको छ । एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयन शुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार