मोफसलबाटै संगीतमा होमिएका राजन

पोखरामा पनि रेकर्डिङ स्टुडियो छ । एरेन्ज हुन्छ । भिडियो बन्छ तर अधिकांश कलाकारहरु गीत रेकर्डिङका लागि सकेसम्म काठमाण्डौँ नै धाउछन् । त्यसमध्येका एक गायक हुन्, राजन कार्की । उनको जन्म जिल्ला स्याङजा हो । पोखरा बसेर संगीत कर्म जारी राखेका उनी मोफसलबाटै रमाइराखेका छन् । ‘गीत रेकर्डिङ र भिडियो मेकिङको काम पोखरामा पनि हुन्छ तर अलि बढिनै आशा गरेको गीतलाई गुणस्तरिया दिउँ भन्ने लाग्छ, त्यसकारण पनि काठमाण्डौ नै धाउछु ।’उनले भने ।

सुन्दरी नगरी पोखराबाट गायन र सृजनामा सक्रिय छन्, राजन । लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सचिव समेत रहेका उनी लोक सृजनामै तल्लिन छन् । बेलाबखत आधुनिक सृजनामा पनि हात हाल्छन् । उनले संगीतबद्ध गरेको गीत ‘तिमिसंग नजर जुधाई’बोलको दोस्रो रेकर्डिङ डिजिटल बजारमा लोकप्रिय बन्दैछ ।

उनको संगीत यात्रा लोक गीतबाटै भएको हो । एसएलसीपछि अध्ययनका लागि काठमाण्डौँ छिरेका राजन केही बर्ष मात्रै बसे । उस्लाई घरपायक पनि पर्ने सुन्दर शहर पोखराले तान्यो । २०६३–६४ साल तिर दोहोरी गीतको एल्बम ‘कस्लाइ दिनु दोष’सार्वजनिक गरेपछि पोखरा फर्केका राजनले पोखरा छोड्ने मन गरेका छैन् । पोखरामै जरा गाडेर लोक संगीतलाई पनि व्यापक बनाउने सुरमा देखिएका छन्, उनी ।

एल्बमको यूगमै ‘आँशु नझार’, ‘धानको बाला’जस्ता लोकप्रिय गीत गाएका उनले डिजिटल यूगमा ‘पान खायो मायाले’, ‘सुर्ति माडेर’, ‘खोलीमा माछी’लगायतका गीत लोकप्रिय बने । पछिल्लो समय आफ्नै यूटुवबाट सृजनाको व्यापार तल्लिन राजन सृजनामा पनि उत्तिकै सक्रिय छन् । भेटमा उनले भने, ‘आफ्ना सृजना आफै संग राखुँ भन्ने लाग्यो र अहिले धेरथोर जति आम्दानी भएपनि आफ्नै पोल्टामा पर्ने भएकाले यूटुव खोलेर आफ्ना सृजना अपलोड गर्छु । लगानी र सृजना अरुलाई निशुल्क सुम्पिनु भन्दा आफैसंग रहनु राम्रो हो ।’ भर्खरै उनले गायिका मेलिना राई संग नयाँ गीत रेकर्ड गराएका छन् ।

उनी गायक मात्र होईन्, कुशल प्रस्तोता पनि हुन् । लामो समय पोखराका विभिन्न रेडियोमा लोकसञ्चारकर्मीको रुपमा पनि सक्रिय बने । अहिले संगीत टिचर हुन् । मेलामहोत्सबमा व्यस्त जीवनलाई सम्हाल्दै उनले संगीत सिकाउछन् पनि । उनी संगीतबाट सन्तुष्ट मिलेको बताउछन् । उनी भन्छन्, ‘सबैकुरा संगीतबाटै मिलेको छ भने खुसी नहुने त कुरै भएन् । यहि संगीतमा रमाएको छु । धेरथोर कमाएको छु । अन्य क्षेत्रमा मन डुलाएको छैन् ।’संगीतले नै नाम र दाम दिएको राजनले बताए । उनले थपे, ‘नाम र दाम बनाएको छु । आफू र परिवारको खर्च धान्नका लागि पुर्पुरो समाउन परेको छैन् ।’

अहिले गीत चलाउन सक्ने हो भने आम्दानी राम्रो छ । डिजिटल बजारमा गीतकै व्यापार र व्यवसायबाट धेरै कलाकार सम्पन्न बनेको राजनको बुझाई छ । ‘जुन क्षेत्रमा लागिन्छ, त्यो क्षेत्रमा विश्राम लिनुहुदैन् । निरन्तरता दिइराख्न सक्नुपर्छ । एउटामा असफलता पाउने वित्तिकै पछि हट्ने हो भने त्यो व्यक्तिले सफलता के हो ? महसुस गर्नै पाउदैन् ।’उनले भने । उनले आफ्नो टर्निङ प्वाइन्टको रुपमा ‘पान खायो मायाले’गीतलाई लिन्छन् । त्यो गीतको सफलतापछि नै उनी ब्याक टु ब्याक गीत गायनमा तल्लिन छन् ।

राजनको लागि पोखरा लक्की सावित पनि भएको छ । उनले पनि त्यो कुराको महसुस गरेका छन् । पोखरा गएपछि मेरो सांगीतिक पाइला लम्किए । काठमाण्डौमा बसेर गरेको कोशिस आधारशीला बने । ‘मलाई पोखराले तान्यो । मोफसलमै बसेर पढाई र गीतसंगीत पनि अघि बढाउछु भन्ने लागेर काठमाण्डौँबाट पोखरा फर्केको हुँ ।’उनले भने ।

परिवारको सपना फरक थियो । दुई दाजुभाईलाई परिवारले अफिसर र डाक्टर भइदिओस् भन्ने चाहन्थ्यो । तर भयो, उल्टो । राजन गायक बने । राजनका दाई शिक्षक बने । ‘चाहेजस्तो नहुदोरहेछ तर हामी सन्तुष्ट छौँ । परिवार खुसी छ ।’उनले भने । बढिजसो माया पिरतीमा आधारित गीत गाएका राजनले एउटा आमा प्रति समर्पित गीत गाएका छन् । जुन गीत गाएको कार्यक्रम स्तब्ध हुने गर्दछ । उनले ‘आँशु नझार’, ‘धानको बाला’जस्ता परदेशी नेपालीको पिडामा गीत गाएका छन् ।

गायक राजन राजनीतिमा रुची नभएको बताउछन् । पछिल्लो समय कलाकारको राजनीतिमा रुची देखिन्छ, तपाईलाई रुची छैन् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म त कलाकार पार्टी हुँ । होला व्यक्तिपिच्छे फरक चाहना, गन्तव्य हुन्छ । त्यसकारणले राजनीतिमा चाह राख्ने साथीहरु विभिन्न तवरले सक्रिय हुनुहुन्छ । त्यसलाई अन्यथा पनि लिनु हुदैन् तर मलाई राजनीतिमा रुची छैन् । संगीतमै फरक गर्न सकूँ भन्ने नै लाग्छ । कलाकार राजनीतिमा लाग्दैमा गलत दृष्टिकोण बनाइहाल्नुपर्ने अवस्था नभएको राजनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार