सोलुखुम्बुमा सकियो एक दिवशीय मानव अधिकार प्रशिक्षण कार्यक्रम

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु – नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुले एक दिवशीय मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संगठनले ‘सबैका लागि सधैँका लागि मानव अधिकार’ भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाममा आज विहीबार केन्द्रीय प्रशिक्षकहरुको उपस्थितीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

जिल्लामा मानव अधिकार हनन्का घटना रोक्न, मानव अधिकारको सम्मान गर्न, संरक्षण गर्न तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ जिल्ला संगठनले सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा प्रशिक्षण कार्यक्रम आयोजना गरेको संगठनका जिल्ला उपसभापति हिमाल गिरीले बताउनुभयो । प्रशिक्षणमा सुरक्षा निकायका तिनै तहका ५/५ जना, शिक्षक, विद्यार्थी, महिला अधिकारकर्मीहरु, दलित प्रतिनिधि, पिछडिएका वर्गका प्रतिनिधिहरु, सञ्चारकर्मी, समाजका अगुवाहरु लगायत गरी करिब १०० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रमको प्रशिक्षण नेपाल मानव अधिकार संगठनका केन्द्रीय प्रशिक्षण विभागका प्रमुख प्राध्यापक डा. गोविन्द प्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रम उद्घाटन सत्रको प्रमुख अतिथिको आशनबाट बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले मानव अधिकार संरक्षणका लागि यस प्रकारको प्रशिक्षण कोशेढुंगा सावित हुने ठोकुवा गर्नुभयो । ग्रामिण क्षेत्रमा केन्द्रीय स्तरको प्रशिक्षक ल्याएर कार्यक्रम गर्नु आफैमा गौरवको विषय भएकाले अन्य पालिकाहरुमा पनि यस प्रकारको कार्यक्रम गर्न स्थानीय तहले बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको जोड दिनुभयो ।

नेपाल मानव अधिकार संगठनका केन्द्रीय प्रशिक्षण विभाग प्रमुख एवं कार्यक्रमका प्रशिक्षक प्राध्यापक डा. गोविन्द प्रसाद ढकालले सुशासन भयो भने मात्रै नागरिकको अधिकार सुरक्षित हुने दाबी गर्नुभयो । राज्य सधै जनताको पक्षमा हुनुपर्ने भएकाले जनताको अधिकार संरक्षणमा राज्य सधै सजग हुनुपर्ने उहाँको जोड छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले राज्यले गर्नुपर्ने काम मानव अधिकार संगठनले गरेको भन्दै धन्यवाद दिनुभयो ।

साथै हिमाली जिल्ला सोलुखुम्बुमा मानव अधिकारका कतिपय सवालहरु अझै कम्जोर रहेकाले यसको समाधानमा राज्यदेखि गैरसरकारी संघ, संगठन लाग्नुपर्ने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले मानव अधिकारको सवालमा प्रहरी सधै सजग रहेको बताउनुभयो । प्रहरी राज्यको प्रतिनिधि र नागरिकको सुुरक्षामा २४ सैँ घण्टा तल्लिन हुने भएकाले प्रहरीले नागरिकको अधिकार संरक्षण गराउने सवालमा कुनै कन्जुस्याई नगर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सोलुखुम्बुका इन्सेक प्रतिनिधि अन्जु कार्कीले सहभागीतामा महिला र विद्यार्थीको संख्यामा ख्याल गर्नुपर्ने बताउनुभयो । मानव अधिकार हनन्का सिकार महिला र बालबालिका बढी हुने भएकाले महिला र बालकालिकालाई तालिममा समेट्ने सवालमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुका उपसभापति हिमाल गिरीले राज्य प्रणालीसँग अन्तर सम्बन्धित भएर तयार भएका ऐन, कानुन तथा ति निकायहरुले मानव अधिकारको स्वतन्त्र तथा पुर्ण उपभोगका लागि कानुनी हिसाबले नै के कति सुनिश्चित हुन सकेका छन् यसलाई सही तवरले समिक्षा गर्नुपर्ने बताउनुभयो ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुका सभापति रमेश बस्नेतले मानव अधिकार सबैका लागि र सधैका लागि आवश्यक हुने भएकाले जिल्लाको हरेक स्थानीय तहहरुले पनि यस्ता कार्यक्रममा लागनी गर्न सुझाव दिनुभयो । हरेक नागरिकको अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएकाले यसतर्फ स्थानीय सरकारले गम्भिर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका प्रशिक्षार्थीहरुले कार्यक्रम पश्चात आफुहरुलाई मानव अधिकारबारेको अनविज्ञता चिर्ने ठुलो अवसर प्राप्त गरेको बताएका छन् । यस प्रकारको कार्यक्रमहरु समय समयमा आयोजना गरिए नागरिकहरु अधिकारबाट बञ्चित भएर बस्नु नपर्ने प्रतिकृया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार