सोलुमा सुरु भयो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सोलुखुम्बु – सोलुखुम्बुमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज शनिवारबाट सल्लेरी स्थित जिल्ला समन्वय समितिको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

आगामी सोमवारसम्म जारी रहने प्रतियोगिताका संघीय सांसद मानवीर राई र प्रदेश सांसद बुद्धि कुमार राजभण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद राईले राष्ट्र रनिङ शिल्ड प्रतियोगितालाई अनुशासित ढंगले सम्पन्न गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा हाम्रोलाई नभई राम्रोलाई छानेर प्रदेशमा पठाउन रेफ्रिहरुलाई निर्देशन दिनुभयो । यस्तै प्रदेश सांसद राजभण्डारीले सोलुखुम्बुलाई सगरमाथाको नामले विश्वमाझ चिनिए झैँ खेलकुदको माध्यमबाट समेत चिनाउन खेलाडीलाई शुभकामना दिनुभयो ।

खेल क्षेत्रमा अनुशासन एकदमै अपरिहार्य चिज भएकाले यसमा ख्याल गदैै अघि बढ्न उहाँको सुझाव छ । जिल्ला समन्वय समितिका उपप्रमुख टिकामाया मगरले विश्व सामु नाम राख्न सक्ने क्षेत्र भनेकै खेलकुद भएकाले यसको विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला, प्रदेश, केन्द्र हुँदै अन्तराष्ट्रिय स्तरसँग प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र राना मगरले खेलकुद क्षेत्रलाई तिनै तहको सरकारले कम चासो दिए जस्तो आभास भएकाले यसको विकासमा सबैको लगानी उत्तिकै हुन आवश्यक रहेको बताउनुभयो ।

जिल्लाबाट छनौट भएर प्रदेश स्तरमा जाने खेलाडीका लागि आवश्यक सम्पुर्ण सहयोग गर्न आफुहरु तयार रहेको उहाँको भनाइ छ । प्रतियोगितामा महिला पुरुष भलिबल, एथ्लेटिक्स, उशु, कराते, मार्सल आर्ट, कर्वडी लगायतका गरी ६ विधाको खेल हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, खेल क्षेत्रका अगुवा, स्थानीय तथा खेलाडीहरुको सहभागिता रहेको थियो । आजबाट सुरु भएको प्रतियोगिता आगामी सोमबार सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार