सल्लेरीमा सुनौलो शिक्षा नेपालको सम्पर्क कार्यालय स्थापना

सोलुखुम्बु – सोलुखुम्बुको शैक्षिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सुनौलो शिक्षा नेपालले सम्पर्क कार्यालय स्थापना गरेको छ । संस्थाले आज मंगलबार एक कार्यक्रमका बिच सल्लेरी स्थित शिव मन्दिर छेउमा कार्यालय उद्घाटन गरेको हो ।

उक्त कार्यालयको संस्थाका फाउन्डर पिटर चिटक, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ र प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले रिबन काटेर उद्घाटन गर्नुभयो । संस्थाबाट सञ्चालित परियोजना तथा कार्यक्रमलाई थप व्यवस्थित गराइ कार्यक्रम कार्यान्वयनमा सहजता ल्याउन सल्लेरीमा फिल्ड कार्यालय स्थापना गरिएको संस्थाका फाउन्डर पिटर चिटकले बताउनु भयो ।

सन् २०१७ मा स्थापना भएको यस संस्थाले जिल्लाको विभिन्न ५ वटा पालिकाको विद्यालयसँगको साझेदारीमा छात्राबास व्यवस्थापनको काम गर्दै आएको छ । संस्थाले जुनबेशी मावि, चन्द्रज्योती मावि, जनता मावि, जीवनज्योती मावि, बासाखाली मावि र छेस्काम माविमा विद्यालयसँगको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका निर्देशक गेले राप्के भोटेले जानकारी दिनुभयो ।

अतिथीको आसनबाट बोल्नुहुदै सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङले संस्थाले गरेका हरेक कार्यहरुको प्रशंसा गर्नुभयो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले छात्रवृतिका लागि संस्थाले छनौट गर्दा विद्यार्थीले प्राप्त गरेको नतिजाको आधारमा मात्र नभई आर्थिक अवस्थाका कारण शिक्षाबाट बञ्चित विपन्न बालबालिकाहरुलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठ,नगरपालिकाका योजना शाखा प्रमुख राम कुमार खड्का, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, संस्थाका कर्मचारीहरु, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार