‘कडेनी झोरेनी सामुदायिक वन तिङला : १३ लाख अनियमितता, २२ लाख बेरुजू’

  हिमाल समाचार
476 Shares

सोलुखुम्बु – सोलुखुम्बुको कडेनी झोरेनी सामुदायिक वन तिङ्लामा १३ लाख रुपैयाँ भन्दा बढी रकम अनियमितता र २२ लाख भन्दा बढी बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ । वन उपभोक्ता समितिले काठ चिरान, कटान तथा ढुवानी गर्ने क्रममा सो रकम अनियमितता र बेरुजू देखिएको सामुदायिक वनको आर्थिक छानविन समितिले निश्र्कष निकालेको हो ।

सामुदायिक वनमा अनियमितता भएको उपभोक्ताबाट गुनासो आएपछि गत पुस २८ गते बसेको सामुदायिक वनको आमभेलाले स्थानीय मान बहादुर कटुवालको संयोजकत्वमा ७ सदस्यीय स्वतन्त्र आर्थिक छानविन समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा मिठुला खड्का, सम्बर बहादुर कार्की, विवेक राई, हर्क बहादुर कार्की, महेश कार्की र रेका वि.क. रहेका थिए ।

उक्त समितिले पेश गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को दुई आर्थिक वर्ष भित्र १३ लाख ८९ हजार ८ सय ५७ रुपैयाँ अनियमितता गरेको र २२ लाख २२ हजार ५४० रुपैयाँ बेरुजू देखाएको छ । सामुदायिक वनले सोलु करिडोर १३२ के.भि.ए प्रसारण लाइन विस्तारको क्रममा वन क्षेत्रमा कटान भएको रुखहरु चिरान, कटान तथा काठहरु बिक्री गरेको थियो ।

सो क्रममा वन क्षेत्रको एक हजार सात सय २९ बोट रुख कटान गरिएको सामुदायिक वनले जनाएको छ । रुख चिरान, कटानका लागि वन कार्यसमितिले सात सय ८० घर उपभोक्ताबाट प्रतिघर १० हजारका दरले ७८ लाख रुपैयाँ रकम नगद संकलन गरेको थियो । यस्तै काठ कटान, चिरान तथा ढुवानीका लागि सोलु करिडोर आयोजनाले पाँच पटक गरी ७१ लाख रुपैयाँ सामुदायिक वनको राष्ट्रिय बाणिज्य बैंक र प्राइम कर्मसियल बैंक खातामा दाखिला गरेको छानविन समितिका संयोजक मान बहादुर कटुवालले बताउनुभयो ।

समितिको प्रतिवेदन अनुसार दुई आर्थिक वर्षमा वनको आम्दानी एक करोड ५९ लाख रुपैयाँ देखिएको छ । जसमध्ये एक करोड ४५ लाख ४०३ रुपैयाँ खर्च भएको देखिएको छ भने बैंक खातामा १३ हजार तीन सय ५१ रुपैयाँ रहेको छानविन समितिका संयोजक कटुवालले बताउनुभयो ।

छानविनको क्रममा ७८ लाख रुपैयाँसम्म बैंकमा जम्मा नगरी नगद करोबार गरेको, भौतिक सामाग्रीहरु खरिद गरेको बिल पेश गरेपनि ति सामाग्रीहरु खरिद गरिएको नदेखिएको, कामदारहरुलाई कम रकम दिएर बढी रकमको भरपाइ गर्न लागेको जस्ता त्रुटिहरु समितिले औल्याएको छ । तर यता सामुदायिक वन उपभोक्ता समितिले भने छानविन समितिको प्रतिवेदन अस्विकार गरेको छ ।

कार्यसम्पादनमा केही त्रुटि भएपनि प्रतिवेदनमा आए जस्तो रकम हिनामिना नगरेको उपभोक्ता समितका अध्यक्ष भुपध्वज कार्कीको दाबी छ ।विविध कारण वनको बैंक खाता रोक्का भएकाले उक्त समयमा नगद कारोकार गरेको स्विकार गर्दै अध्यक्ष कार्कीले वनलाई पारदर्शी बनाउनमा आफु समेत लागि परेको जिकिर गर्नुभयो ।

कतिपय विल भरपाई समेत छानविन समितिले अस्विकार गर्दा बेरुजु बढी देखिएको उहाँले बताउनुभयो । सोलुदुुधकुण्ड नगरपालिका–११ तिङ्लाका वडाध्यक्ष टङ्क बहादुर कार्कीले यस विषयमा भेला बोलाएर निचोड निकाल्ने प्रतिकृया दिनुभयो ।

सामुदायिक वनको गत आर्थिक वर्षको लेखा परिक्षण समेत भइसकेको तर छानविन समितिले निकै ठुलो रकम बेरुजू र अनियमितता भएको प्रतिवेदन बाहिर ल्याएकाले यस विषयमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ । छानविन समिति र लेखा परिक्षणकै प्रतिवेदन बाझिएकाले कस्को कम्जोरी हो त्यसबारे अध्ययन गरेर अघि बढ्ने वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

यता डिभिजन वन कार्यालय सल्लेरी सोलुखुम्बुले अनियमितताको विषयमा आफुहरुलाई आधिकारिक जानकारी नरहेको बताएको छ । यद्यपि आर्थिक वर्ष २०७९/०८० को लेखा परिक्षण नभएकाले सो विषयमा ताकेता गरिरहेको सहायक वन अधिकृत मनराज राईले बताउनुभयो ।

वि.स २०५१ सालमा स्थापना भएको कडेनी झोरेनी सामुदायिक वनका ९५० घरधुरी उपभोक्ता रहेका छन्ल भने वन सात सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस वन क्षेत्रमा सल्ला, गोब्रे, ठिङ्ग्रे, गुँरास, चिमल लगायतका प्रजातीका रुखहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार