पहिरोको चपेटामा लोदिङका दुई घर, आयोगका उपसचिवसहितको टोली फिल्डमा

  हिमाल समाचार
434 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–३ लोदिङ स्थित पहिरोको जोखिममा परेका घरहरुको राष्ट्रिय मानव अधिकार आयोगका टोलीले स्थलगत निरीक्षण गरेको छ । सडक स्तरोन्नतीको क्रममा पहिरोको चपेटामा परेका स्थानीय पुर्ण माया विश्वकर्मा र शान्त विश्वकर्माको घरको राष्ट्रिय मानव अधिकार आयोग खोटाङ प्रमुख एवं उपसचिव गीता कुमारी दाहालसहितको टोलीद्वारा आज शनिवार स्थलगत निरीक्षण गर्नुभएको हो ।

घटनाको विषयमा आयोगले यस अघि पनि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । निरीक्षणपछि आयोगका उपसचिव दाहालले विश्वकर्माद्वय परिवार बास्तविक रुपमै अन्यायमा परेको देखिएको बताउनुभयो । सडक स्तरोन्नतीको क्रममा नागरिकको बासको ख्याल नगर्दा घर जोखिममा परेको प्रष्ट भएको उहाँको भनाइ छ ।

नागरिकको स्वतन्त्रपुर्वक बस्न पाउने अधिकारबाट दुई परिवार बञ्चित भएकाले यसको समाधानका लागि आयोगले पहल गर्ने उपसचिव दाहालले बताउनुभयो । सो घर तथा जग्गा नै पहिलोको उच्च जोखिममा देखिएकाले वर्षात सुरु हुन अगावै स्थानान्तरण गर्नुको विकल्प नदेखिएको उहाँको प्रतिकृया छ ।

सल्लेरी–तामाखानी–पिके सडक निर्माणको क्रममा गएको पहिरोका कारण लोदिङका २ घर उच्च जोखिममा परेको छ । उक्त सडक निर्माणको क्रममा करिब ४ रोपनी क्षेत्रफलमा बनेको पुर्ण मायाकोे २ तले घर र करिब एक रोपनी क्षेत्रफलमा रहेको शान्त मायाको एक तले घर उच्च जोखिममा परेको हो ।

पहिरोले घर चिराचिरा पर्दै गएकाले वर्षातमा सुरक्षित स्थानमा सर्न आग्रह गरिएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताउनुभयो । साथै नजिकै रहेको लोदिङ सृजनशिल क्लवको भवन समेत सडककै कारण पहिलोको जोखिममा परेको थियो । यद्यपि क्लवको भवन भने आयोजनाले स्थानान्तरण गरिसकेको छ ।

बस्तीमा सडक निर्माण गर्दा निर्माण कम्पनीले ख्याल नगर्दा बास नै उठ्ने अवस्था सृजना भएको पीडित पुर्ण माया विश्वकर्माले गुनासो गर्नुभयो । निर्माण कम्पनी ओसेस इन्जिनियर विल्डर्स प्रा.लि.ले प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोड लागतमा सडक स्तरोन्नतीको काम गरिहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार