सोलुखुम्बु – फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।
सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरूले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताउनुभयो ।
सगरमाथाको आरोहण गर्नुअघि लोबुचे पिकको आरोहण गर्ने उहाँको योजना छ । बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लाग्नुभएका उहाँले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिनुभयो । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ ।
सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गर्नुभएको थियो । सगरमाथासहित सात वटा महादेशका चुचुरोहरू आरोहण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।