आन्तरिक पर्यटन खुम्बुको अवसर

एकपटक घुम्नै पर्ने ठाउँ

  शिखर गजरकोटे
1.4k Shares

सोलुखुम्बु – बाह्य पर्यटनले धानेको खुम्बु कोरोना भाइरसका कारण प्रभावित छ । कोरोनाकै कारण भ्रमण बर्ष २०२० स्थगीत हुनुले खुम्बु पर्यटनलाई बज्रपात परेको छ । भ्रमण बर्षका लागि गरिएको तयारी ‘बालुवाको पानी’ जस्तै भएको छ । पर्यटकको संख्या बढ्ने आशाले व्यवसायीहरुले होटलको संख्या बढाएका थिए भने सिजनमा हुने खपतको अनुमानमा ढुवानी गरिएको खाद्यान्न उपयोगमा आउन सकेन ।

आन्तरिक हवाई उडान सुरु भएसंगै सोलुखुम्बुको खुम्बु क्षेत्र भित्रने पर्यटकको संख्या बाक्लिन थालेको छ । त्यसमा विदेशी भन्दा नेपाली पर्यटक बढि छन् । कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि चैत्र ११ बाट बन्द आन्तरिक उडान असोज ५ गतेबाट सुचारु भएसंगै नेपालीहरुको भ्रमण गन्तव्यमा खुम्बु पनि पर्न थालेको छ । खुम्बु पुग्ने ९० प्रतिशत आन्तरिक पर्यटक प्याकेजमा पुग्छन् । मुस्किलले १० प्रतिशत आन्तरिक पर्यटक खुला रुपमा पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटकमा बृद्धि

जोरसल्ले चेकपोष्टको तथ्यांक अनुसार असोज र कात्तिक महिनाको १३ गतेसम्म ३ सय ९३ जना नेपाली र विदेशी पर्यटकहरु खुम्बु भित्रिएका छन् । असोज महिनामा १ सय ७१ जना पर्यटक खुम्बु भित्रिएका थिए । त्यसमध्ये १४६ जना नेपाली पर्यटक थिए भने २५ जना विदेशी पर्यटक थिए । कात्तिक महिनाको १३ गते बिहिबारसम्म ६० जना विदेशी र १६२ जना नेपाली पर्यटक खुम्बु पुगेका छन् ।

पछिल्लो तथ्यांकलाई हेर्दा आन्तरिक पर्यटकको संख्या बढ्दो छ । कोरोना कहरका कारण बाह्य पर्यटक तत्काल पहिले कै तुलनामा नेपाल भ्रमणमा आउलान् भन्ने छैन् । पर्यटन व्यवसायीहरु प्हिलेकै अवस्थामा रिकभर हुन केही बर्ष लाग्ने बताउछन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायका अनुसार लामो समय बन्दाबन्दीमा घर भित्रै बसेकाहरु खुला भएपछि घुम्न निस्केको पाइएको बताए । उनले भने, ‘खुसीको कुरा हो, यो पटक आन्तरिक पर्यटकको रोजाइमा पनि खुम्बु परेको छ । सामान्य अवस्थामा यो समयमा बाह्य पर्यटक हाबी हुनाले पनि आन्तरिक पर्यटकले स्पेस पाउथेनन् । परिस्थिती अनुसार आन्तरिक पर्यटकको संख्या बढ्नु सुखद कुरा हो ।’

एकपटक घुम्नै पर्ने ठाउँ
यो मौसम घुमफिरको हो । दशैँ शुरु भएपछि टेकुनन्द इवा लिम्बु पारिवारिक भ्रमणमा खूम्बु पुगे । सोलुखुम्बुको प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका उनी विदा मिलाएर परिवारका सदस्य सहित नाम्चेसम्म पुगे । खुम्बमा तीन दिन विताएका लिम्बु भन्छन्, ‘हर नेपाली एक पटक पुग्नै पर्ने क्षेत्र हो ।’ उनले भने, ‘जसरी सामान्य मानिस खुम्बु घुम्नै सक्दैन् भन्ने बुझाई गलत रहेछ भन्ने मेरो बुझाई रह्यो ।’

आन्तरिक पर्यटकलाई वेवास्ता गरिन्छ भन्ने बाहिरी सूचना गलत सावित हुदै गएको प्रहरी निरीक्षक टेकुनन्दको छ । संरचना बाह्य पर्यटकमैत्री देखिएपनि आन्तरिक पर्यटनलाई पनि बढवा दिनुपर्छ भन्ने सोचमा खुम्बुका व्यवसायी पुगेको उनको भनाई थियो । ‘नाम्चेसम्म पुग्दा केही होटल व्यवसायीसंग पनि अनौपचारिक कुरा गरे । सो कुरामा आन्तरिक पर्यटक पनि प्राथमिकतामा राखिएको, राख्नुपर्ने जस्ता धारणा बुझ्न पाँए । खुसी लाग्यो ।’ उनले भने ।

भूगोल र प्रकृतीका अनुपम उपहार निहाल्न पनि खुम्बु जानै पर्ने लिम्बुको सुझाव छ । खुला मौसम, हिमालैहिमालले घेरिएको दृष्यमा म मात्र हैन्, मेरो परिवारले मज्जा लिएको अनुभव साटे । उनले भने, ‘भूगोल र ढुवानीका कारण पनि केही महंगो हुनु स्वभाविक हो तर अन्य पर्यटकीय क्षेत्रको तुलनामा खास महंगो लागेन ।’ उनले भने, ‘लुक्लाबाट नाम्चे पुग्दा बीच तिरको होटलमा सुतेको पैसा नलिएको पनि पाँए ।’

पहिलेजस्तो छैन खुम्बु

प्रहरी सेवामा रहेका लिम्बु आन्तरिक पर्यटकको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै खुला रुपमा जाने पनि छन् तर अधिकांश आन्तरिक पर्यटक प्याकेजमै घुम्न आउने गरेको नाम्चे होटल एसोसिएसनका सल्लाहकार लामाकाजी शेर्पाले बताए । उनले भने, ‘घुम्न आउने नेपाली मध्ये ९० प्रतिशत प्याकेजमै आएका छन् । अन्य खुला रुपमा आउछन् ।’

‘खुम्बुमा नेपालीलाई राम्रो व्यवहार गरिदैन् भन्ने सूचना बाहिर छ, त्यसकारणले पनि आन्तरिक पर्यटकको रुपमा खुम्बु आउन डराउछन् तर खुम्बुमा धेरै परिर्वतन भइसकेको छ ।’ शेर्पाले भने, ‘पर्यटक विदेशी मात्र हैन्, नेपाली पनि हो । उनीहरुलाई पनि बाह्य पर्यटकलाई जस्तै व्यवहार गर्नुपर्छ भन्ने धारणा बनिसकेको छ ।’ ‘खुम्बु खर्चको हिसावले महंगो पनि हैन् ।’ उनले भने । प्रति व्यक्ति ५० हजारमा काठमाण्डौबाट लुक्ला झेरेर वेस क्याम्पसम्म पुगेर काठमाण्डौँ ने फर्कन सकिने शेर्पाको भनाई छ ।

आन्तरिक पर्यटनलाई जोड

कोराना कहरका बीचमा बहराइनी राजकुमारले लबुचे हिमालको सफल आरोहण गरेपछि आन्तरिक पर्यटनमा बढवा मिलेको कतिपय बताउछन् । कहरका बीचमा देखिएको आन्तरिक पर्यटकको लहरलाई बढवा दिनुपर्नेमा खुम्बुका व्यवसायीहरु देखिएका छन् । होटल एसोसियसन मन्जोका अध्यक्ष पासाङ शेर्पाले कोरोना संक्रमण सामान्य हुनासाथ प्याकेट सहित आन्तरिक पर्यटकलाई खुम्बु निमन्त्रणा दिनुपर्ने बताउछन् । उनी भन्छन्, ‘तत्काल विदेशी पर्यटक आउनका लागि कोरोना प्रभाव विश्वभर परेकाले केही समय लाग्न सक्छ । त्यसकारण, नेपालीले नै नेपालीलाई पर्यटकको रुपमा स्वागत गर्ने वातावरण बनाउनुपर्छ ।’ त्यसो गर्न सकेमात्र खुम्बुको पर्यटन र होटल व्यवसायीलाई राहत मिल्ने शेर्पाको भनाई छ ।

नाम्चे होटल एशोसियसनका सल्लाहकार लामाकाजी शेर्पा पनि आन्तरिक पर्यटनलाई बढवा दिनुपर्नेमा सहमत छन् । ‘हामीले त एक दशक अघि देखिनै सिजनमा आन्तरिक पर्यटकलाई पनि स्पेस दिउँ भनिरहेकै हौँ ।’ उनले भने, ‘खुम्बु प्रवेशको सहजद्धार भनेको लुक्लामा जहाजबाट आर्लने तर सिजनको बेलामा नेपालीले टिकट नपाउने समस्याले भनेजस्तो भएको थिइन् ।’ आन्तरिक पर्यटनलाई बढवा दिने यो उपयुक्त माध्यम जस्तो बनेको उनले बताए । उनी थप्छन्, ‘खुम्बु पासाङल्हमू गाउँपालिकाको केन्द्रसम्म सडक सूचारु भएपछि आन्तरिक पर्यटकलाई खुम्बुमा नियमित स्वागत गर्छौ । हामी मिश्रित पर्यटन विकासमा केन्द्रित हुनेछौ ।’

गाउँपालिकाको कसरत

कोरोना संक्रमणबाट अछुतो नरहेको खुम्बुमा स्थानीय सरकारले होटलको सेवालाई चुस्त बनाउनका लागि कसरत थालेको छ । ६ महिना ठप्प रहेको व्यवसायलाई आवश्यक सुरक्षाका उपाय आत्मसाथ गरेर संचालन गर्नका लागि खुम्बु पासाङल्हमू गाउँपालिकाले होटल संचालकलाई अभिमूखिकरण गर्ने तयारी गरेको छ । जस्लाई कार्यापालिका वैठकबाट हरेक वडा (५ वडा)लाई ४–४ लाख खर्च पाउने निर्णय गरिएको छ ।

खुम्बु भ्रमणका लागि पुग्ने नेपाली तथा विदेशी पर्यटकको खाना र आवास व्यवस्थापनका लागि कोरोना कहरका बीचमा पनि सेवा प्रवाह जारी राख्ने गरि होटल संचालकलाई अभिमूखिकरण गर्ने तयारी गरिएको प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले बताए ।

वडाका जनप्रतिनिधिहरुले हस्पिटालिटी विज्ञ झिकाएर होटल संचालकलाई अभिमूखिकरण गराउनेछन् ।

खुम्बु जोड्ने सडक

ग्रामिण सडकलाई लुक्ला नजिक सम्म लैजाने गरि ट्रयाक ओपनको काम भइरहेको छ । उद्यपी, कडा चट्टानलाई छिचोल्नुपर्ने भएकाले पनि केही समय लाग्ने देखिन्छ । जानकारहरु पनि सडकको पहूँच लुक्ला क्षेत्रमा पुग्नासाथ सिजनमा उठ्न जहाज नपाएपनि सडकबाट गुडेर खुम्बु पुग्ने र मनोरम दृष्यमा रम्नेहरुको संख्या ह्वात्तै बढ्ने बताउछन् ।

सडकबाट खुम्बु जानेहरु सदरमुकाम सल्लेरीबाट २ सडकको प्रयोग गर्न सक्नेछन् । एउटा फाप्लु–टाक्सिन्दु हुदै, अर्को काँकु–बासा हुदै । काँकु–बासा सडक हिउँदमा मात्र संचालनमा छ भने फाप्लु–टाक्सिन्दु सडक दुधकोशी माथी पुल नबन्दा खुम्बुसंग सिधा जोडिएको छैन् ।

उद्यपी, दुधकोशी नदि माथी पुल बन्नका लागि टेण्डर सकिएको छ । सडकलाई कारण बनाएर निर्माणको काम थालनीमा विलम्ब भएको छ ।

फोटो – सोलुखुम्बुका प्रनाउ टेकुनन्द इवा लिम्बुको फेसबुक वालबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार