नेकपा विघटनपछि प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?

काठमाडौं- नेकपाका दाहाल- नेपाल समूहले आ-आफ्नो पुरानो पार्टीभित्रै बसेर एकताको प्रयास गर्ने निर्णय गरेसँगै संकटमा रहेका प्रदेश सरकार सुरक्षित भएका छन् भने सुरक्षित मानिएका केही प्रदेश सरकार संकटमा परेका छन् ।

आफूविरुद्ध अविस्वासको प्रस्ताव नै दर्ता भएर धरापमा परेको शेरधन राईको प्रदेश १ सरकारमा अब भने नेकपा एमालेको बहुमत छ । बहुमतका लागि जम्मा ४७ सांसद हुनुपर्नेमा हाल प्रदेश १ मा एमालेका ५१ सांसद रहेका छन् ।

तत्कालीन नेकपा विवाददेखि टाढै रहेको प्रदेश २ सरकारलाई वर्तमान राजनीतिक घटनाक्रमले प्रत्यक्ष प्रभावित पार्ने देखिदैँन । प्रदेश २ मा जनता समाजवादी पार्टीका मुख्यमन्त्री लालबाबु राउतसँग बहुमतका लागि आवश्यक आवश्यक पर्ने ५४ सांसद छन् ।

त्यसैगरी अविश्वासको प्रस्तावमा परेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलसँग पनि स्पष्ट बहुमत छ । बहुमतका लागि ५६ जना सांसद चाहिनेमा ५८ जना सांसद रहेका छन् ।
यता, गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बहुमतका लागि सांसदको कमी रहेको छ।

बहुमतका लागि ३१ सांसद आवश्यक पर्ने गण्डकी प्रदेशमा एमालेका २८ सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिए मुख्यमन्त्री गुरुलाई सरकार जोगाउन राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ वा कांग्रेसका १५ सांसदको समर्थन चाहिन्छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई बमुहतका लागि ३ सांसद अपुग हुन्छन् । एमालेका ४१ सांसद रहेको प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्दछ । माओवादीले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री पोखरेलले जसपाका ६ वा कांग्रेसका १९ सांसदको समर्थन लिनुपर्नेछ ।

उता, माओवादी केन्द्रका मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा सरकार हेरफेर हुन सक्छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दल माओवादीसँग १३ सांसद छन् । बहुमतका लागि २१ सांसद आवश्यक हुन्छ । सरकार टिकाउन शाहीले कांग्रेसका ६ र राप्रपाका एक सांसद जुटाउँदा पनि एक जना अभैm कम हुन्छ । त्यस्तै, एमालेसँग कर्णालीमा २० सांसद छन् । एमालेले राप्रपाको एक वा कांग्रेसको ६ सांसद जुटाएर सरकार बनाउने सम्भावना देखिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि आवश्यक २७ सांसद आवश्यक हुनेमा मुख्यमन्त्री त्रिलोचन भट्टको माओवादी केन्द्रसँग आधा सांसद मात्र छन् । एमालेले समर्थन फिर्ता लिएमा भट्टले सरकार टिकाउन कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन लिनुपर्नेछ । २५ सांसद रहेको एमालेले सरकार बनाउन भने जसपाको दुई वा कांग्रेसको १२ सांसद जुटाउनुपर्नेछ ।

-imagekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार