१० वटा हिमालमा ४९ जना सम्पर्क अधिकृत

  हिमाल समाचार
133 Shares

काठमाडौं– यस वर्ष पर्वतारोहणलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन पर्यटन विभागले १० वटा हिमालमा ४९ जना सम्पर्क अधिकृत खटाएको छ । अघिल्ला वर्षहरुमा तोकिएका सम्पर्क अधिकृत आधारशिविर नपुग्दा हिमाल आरोहणका क्रममा अवैधानिक र गैरकानुनी क्रियाकलाप बढेको भन्दै विभागले यस वर्षदेखि कडाइ गरेको जनाएको छ ।

पर्यटन विभागले पर्वतारोहणलाई अनुगमन, आरोहण समन्वय र आरोहण दलको सहयोगका लागि प्रत्येक आरोहण दलका लागि एक जना सम्पर्क अधिकृत खटाउने गर्छ । खटिएका कर्मचारी त्यस क्षेत्रमा नपुग्ने र पुगेका केही व्यक्ति समेत तुरुन्तै काठमाडौं फिर्ता हुने गरेको पाएको भन्दै विभागले कानुनी रुपमा तोकिएको जिम्मेवारी पूरा गर्न सम्पर्क अधिकृतहरुलाई कडा निर्देशन दिएको विभागका महानिर्देशक रुद्र सिंह तामाङले बताए। दुई वर्ष अघि जिम्मेवारी वहन गरेर फिल्डमा नपुग्ने ४३ जना सम्पर्क अधिकृत (सरकारी कर्मचारी)लाई पर्यटन विभागले कारबाही गरिसकेको महानिर्देशक तामाङले बताए ।

पर्वतारोहणसम्बन्धी नियामवली २०५९ ले एक आरोहण दलका लागि एक जना सम्पर्क अधिकृत खटाउनुपर्ने व्यवस्था गरेको छ । यस वर्ष सगरमाथा आधार शिविरका लागि मात्र ३७ जना सम्पर्क अधिकृत खटाइएको विभागले जनायो । यस मध्ये सगरमाथामा २६, ल्होत्सेमा ७, नुप्सेमा ३ र पुमोरी १ जना छन् । यी चारवटै हिमाल एउटै आधारशिविर भएर आरोहण हुने गर्छ । सरकारले प्रत्यक्ष कार्यालय स्थापना नभएको क्षेत्रमा आरोहण अवधिभर (७५ दिनसम्म) रेखदेख र सहजीकरण गर्ने गरी सम्पर्क अधिकृत तोक्दै आएको छ ।
सम्पर्क अधिकृत आधार शिविरमा नपुग्दा आरोही, गाइड, मजदुर र एजेन्सीहरुले गैरकानुनी क्रियाकलाप गर्ने गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड’ २०७७ नै जारी गरी यस वर्षदेखि हिमालमा थप कडाइ गरेको छ । फोटो तथा भिडियो कैद, जथाभावी आरोहण, गलत क्रियाकलाप जस्ता कामको कडाइका साथ सम्पर्क अधिकृतले अरोहण सम्पन्न हुने अवधिसम्म आधार शिविर नै बसेर अनुगमन गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यता पर्वतारोहणसम्बन्धी नियमावली २०५९ ले भने सम्पर्क अधिकृत आरोहण दलका सदस्यसँगै आधार शिविर पुगेर आरोहण सम्पन्न हुनेसम्म आधार शिविरमै बसेर आरोहणलाई सुरक्षित बनाउन, तत्काल उद्धारका लागि एजेन्सी, सरदार, गाइड, उचाइमा जाने कामदारसँग समन्वय गर्नुपर्ने व्यवस्था छ ।
सम्पर्क अधिकृतलाई आधार शिविर जान सक्छु भनी प्रतिबद्धता गराएका छौ, यदि जिम्मेवारी पूरा नभए कानुनी कारवाही गर्ने छौं महानिर्देशक तामाङले भने। तोकिएको भन्दा बढी गतिविधि गरे एजेन्सीको लाइसेन्स खारेज गर्ने गरी निर्देशन दिएको विभागले जनाएको छ ।
कम दुर्घटना होस् भनी व्यवस्थित रुपमा आरोहण गराउने, दुर्घटना भए तत्काल उपचारको व्यवथा मिलाउने, पूर्णरुपमा नियन्त्रित गतिविधि मात्र गर्न दिने व्यवस्था गरेको विभागको भनाइ छ । सेलिव्रेटी बन्न जथाभावी फोटो खिचाउने गर्नाले सन् २०१७ मा गलत प्रचार भएको विभागको ठहर छ । कीर्तिमान बनाउने बहानामा जथाभावि आरोहण अनुमति लिन खोज्ने र गैरकानुनी क्रियाकलाप बढेको भन्दै आरोहण अनुमतिमा कडाइ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार