राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी

  हिमाल समाचार
7 Shares

काठमाडाैँ- राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फ रिक्त रहेको सदस्यका लागि मतदान जारी छ । एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार गृहमन्त्री थापा, स्वतन्त्र उम्मेदवारका रूपमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ भिड्दै छन् । देवकोटा स्वतन्त्र उम्मेदवार भए पनि उनलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहको सहयोग छ ।

उपनिर्वाचनमा प्रदेशसभाका १ सय ९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४७ मतदाता छन् ।

प्रदेशसभामा एमालेको ५६, माओवादी केन्द्र २३, कांग्रेस २२, विवेकशील साझा पार्टी २, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र एक गरी १ सय ९ मतदाता छन् । स्थानीय तहमा एमालेको १३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत छ ।

प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । वाग्मती प्रदेशमा १ सय १९ वटा स्थानीय तह छन् ।बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिनेछ । विद्यालयको पूर्वपट्टिको गेटबाट कोरोना पोजिटिभ मतदाता र पश्चिमतिरको गेटबाट अन्य मतदातालाई प्रवेश गराइएको छ ।

सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलका अनुसार तीनवटा मतपेटिका राखेर मतदान भइरहेको छ । मतदान केन्द्र परिसरमा सरकारले तोकेअनुसार स्वास्थ्य मापदण्ड पालना गरिएको छ । सामाजिक दुरी, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि छुट्टा–छुट्टै मतपत्र छन् । मतदान समय सकिएलगत्तै विद्यालयमै मतगणना गर्ने व्यवस्था मिलाइएको छ । ‘हामी साँझ ६ बजेसम्म मतगणना सम्पन्न गरिसक्नेछौं,’ उनले थपे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार