राष्ट्रियसभाको उपनिर्वाचन:३३८ भोट खस्यो

  हिमाल समाचार
0 Shares

काठमाडाैँ- राष्ट्रियसभाको उपनिर्वाचनमा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहे ।

प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन् । १०९ सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित रहे ।

१४४ मत भार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।

उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानको नतिजा आजै आउने बताइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिनेछ ।

प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ । उनका अनुसार आज साँझसम्म नतिजा आइसक्नेछ ।

उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ । माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा. देवकोटालाई समेत भोट हालेकाले कसको जित हुन्छ, अहिल्यै भन्न नसकिने नेताहरु बताउँछन् । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार