विपक्षी गठबन्धन बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने तयारी गर्दै

  हिमाल समाचार
119 Shares

काठमाडाैँ- बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् ।

शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए ।

बिहानदेखि विभिन्न तहमा भएका छलफलमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्ष र एमालेकै झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको हस्ताक्षरमा प्रधानमन्त्रीको दावा प्रस्तुत गर्ने तयारी भएको कांग्रेसका एक नेताले बताए ।

अहिले संसदमा कांग्रेसको ६१, माओवादी केद्रको ४९, एमालेका खनाल–नेपाल समूहको २८ सांसद छन् । जसपाको यादव समूहको १५ सांसद भएको दावी छ । ३२ सांसद रहेको जसपामा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफूतिर बहुमत रहेको दावी गर्दै आएका छन् । प्रधानमन्त्रीले बैशाख २७ गते विश्वासको मत लिँदा जसपमा ठाकुर र यादव पक्षमा १५/१५ सांसद देखिएका थिए ।

एमालेको खनाल–नेपाल पक्षमा रहेका सांसदले हस्ताक्षर गरेमा देउवा नेतृत्वमा सरकार बनाउन बहुमत संख्या नै पुग्छ । संविधानके धारा ७६ (५) प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत पुर्‍याउन सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओलीले संविधान बमोजिम राजीनामा वा विश्वासको मतमा असफल भएपछि संविधानको धारा ७६(५) अनुसारको पकृया अघि बढ्नु पर्नेमा त्यसो नगरी राष्ट्रपति र प्रधानमन्त्रीको मिलीभगतमा संविधानविपरित सरकार निर्माणका लागि हिजो राती आह्रवान भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार