योजनामा १५ लाखभन्दा बढि रकम हिनामिना आरोपको उजुरी अख्तियारमा

आरोपित अध्यक्ष भन्छन्, 'पैसा माग्दा नदिएपछि झुटो उजुरी'

  हिमाल समाचार
7.5k Shares

सोलुखुम्बु – सोलुखुम्बुमा गोरेटो बाटो निर्माणमा १५ लाखभन्दा बढि रकम हिनामिना गरेको भन्दै उपभोक्ता समितिकै अध्यक्ष, कोषाध्यक्ष र प्राविधिक विरुद्ध उजुरी परेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका १ खरिखोलामा आर्थिक वर्ष २०७४–७५मा खरिखोला हुँदै पाङगोम जोड्ने गारेटो बाटो निर्माणका लागि गाउँपालिकाबाट विनोयोजन भएको ५८ लाखमध्ये १५ लाख ६८ हजार रुपैँया हिनामिना भएको भन्दै उपभोक्ता समितिका सचिव रामबहादुर थापा मगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।

निर्माण समितिका अध्यक्ष ङिम तेण्डी शेर्पा, कोषाध्यक्ष छोटी शेर्पा र प्राविधिकको मिलेमतोमा गाउँपालिकाबाट रकम निकासा गरि हिनामिना गरेको समितिका सचिव मगरको आरोप छ । विनियोजित बजेटबाट ४२ लाख ३२ हजार रुपैँयाको मात्रै काम भएको र बाँकी रकमको दुरुपयोग गरिएको उनको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

हिनामिनाबारे मुख्यमन्त्री र प्रदेश सांसदलाई जानकारी गराउन खोज्दा निर्माण समितिका अध्यक्षले दबाब दिएको उजुरीमा उल्लेख छ ।

यता समितिका अध्यक्ष ङिमतेन्डी शेर्पाले आफुले कुनै पनि रकम हिनामिना नगरेको प्रष्ट पारेका छन् । कुल बजेट मध्ये पालिकाले कर कट्टा गरेर ५२ लाख मात्रै निकासा गरेको उनले बताए । ४९ लाखभन्दा बढि बाटोको काममा खर्च भएको र बाँकी रकमको पालिका आवतजावत तथा स्टेसनरी खर्च भएको शेर्पाले बताए ।

पालिकाको कर्मचारीले स्थलगत अनुगमन गरि निकासा गरेकाले प्रक्रिया अनुसार तवरबाट काम फत्ते गरेको बताए । सचिवले आफु सँग रकम माग्दा नदिएपछि कपोकल्पित उजुरी दर्ता गराईएको अध्यक्ष शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार