सोलुखुम्बु : ४८ वडा र ७ पालिकाको नतिजा आउँदा काँग्रेस पहिलो

  हिमाल समाचार
2k Shares

सोलुखुम्बुको अधिकांश वडा र पालिकाको निर्वाचन मतपरिणाम सार्वजनिक भइसकेको छ । ४८ वडा र ७ पालिकाको नतिजा आउँदा लिखुपिके, महाकुलुङ, सोताङ र नेचासल्यानमा कांग्रेसले पालिकाको अध्यक्ष, उपाध्यक्ष जितेका छन् ।

खुम्बु पासाङ ल्हामू गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष जितेको एमालेले माप्य दुधकोशी गाउँपालिकामा अध्यक्ष मात्र जित्न सफल भएको छ । उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।

२०७४ मा चार पालिकामा नेतृत्व हत्याएको एमालेको जित अहिले एक पालिकामा अध्यक्षसहित दुई पालिकामा सिमित बनेको छ भने यसअघि तीन पालिकामा विजयी माओवादी केन्द्र यो पटक एक पालिकामा उपाध्यक्षसहित थुलुङ दुधकोशीमा बर्चस्व कायम राखेको छ । २०७४ मा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुख र तीन पालिकाको उपाध्यक्षमा चित्त बुझाएको कांग्रेसले जितको दायरा फराकिलो बनाएको छ ।

वडागत जितमा कांग्रेस अघि देखिएको छ । नतिजा आएको ४८ वडामध्ये २२ वडामा कांग्रेसले जित निकालेको छ । नेकपा एमालेले १६ वडामा जित निकाल्दा माओवादी केन्द्र ९ वडामा सिमित बनेको छ । लिखुपिके ३ मा एक स्वतन्त्र उम्मेदवार विजयी बनेको छ ।

खुम्बु पासाङ ल्हामू गाउँपालिकामा २०७४ मा क्लिन स्विप पारेको एमालेले पालिकाको साख जोगाएपनि वडा क्लिन स्विपको लागि असफल भएको छ । पालिका अध्यक्षमा मिंमाछिरी शेर्पा र उपाध्यक्षमा टासील्हमू शेर्पा निर्विाचित भएको खुम्बुमा वडा नं १ कांग्रेसको प्यानलै विजयी हुँदा अन्य चार वडामा एमालेका उम्मेदवार विजयी भए ।

लिखुपिके गाउँपालिकामा अघिल्लो पटक माओवादी केन्द्रले पालिका जितेको थियो । यो पटक पालिकाको नेतृत्व कांग्रेसको पोल्टामा आएको छ । अध्यक्षमा महिला अध्यक्ष मिना कार्की र उपाध्यक्षमा ङवाङ ल्हाक्पा शेर्पा निर्वाचित बने । वडा नं १, २ र ५ कांग्रेसको जित निकाल्दा वडा नं ४ एमाले र वडा नं ३ मा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् ।

७ वडा रहेको माप्य दुधकोशीमा मिश्रित नतिजा आएको छ । पालिका अध्यक्षमा एमालेबाट बुद्धिकिरण राई दोहोरिदा उपाध्यक्षमा गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका गौरब राई निर्वाचित भए । माप्यमा वडा नं १ र ४ मा माओवादी, वडा नं ५ र ६ मा कांग्रेस र वडा नं २, ३ र ७ मा एमालेका उम्मेदवार निर्वाचित बनेका छन् । माप्यमा कांग्रेस–माओवादीले गठबन्धन गरेका थिए ।

थुलुङ दुधकोशी गाउँपालिका ९ वडामध्ये वडा नं १, ३, ४ र ६ मा कांग्रेसले जित्दा वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेको छ । अघिल्लो पटक वडा नं २ जितेको एमाले यो पटक शुन्य बनेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् । अघिल्लो पटक उपाध्यक्ष जितेको थुलुङ दुधकोशीमा नेतृत्वमा आउने कोशिस सफल भएन । त्यहाँ असिम राई र सविता राई नेतृत्वमा दोहोरिए ।

नेचासल्यान गाउँपालिकामा यो पटक कांग्रेस हावी भएको छ । अघिल्लो पटक पालिका अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसको निर्वाचित भएको नेचासल्यानमा यो पटक कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । पालिका नेतृत्व गुमाएको एमालेले वडा नं ३ र ४ को नेतृत्व पनि गुमाएको छ । यसअघि एमालेले जितेको नेचासल्यान ३ मा माओवादी र कांग्रेसले मिश्रित जित निकालेको छ भने वडा नं ४ कांग्रेसले जितेको छ । वडा नं ५ मात्र एमालेले जित्दा नेचासल्यान १ र २ पनि कांग्रेसले जितेको छ ।

अघिल्लो पटक पालिकाको नेतृत्व एमालेको पोल्टामा गएको सोताङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । खिलाराज बस्नेत अध्यक्ष र अन्जु राई उपाध्यक्षमा निर्वाचित हुदा वडामा कांग्रेस र एमालेले मिश्रित निकालेका छन् । वडा नं १, ३ र ४ मा कांग्रेसका उम्मेदवार विजयी हुँदा वडा नं २ र ५ मा कांग्रेसको उम्मेदवार निर्वाचित बने । सोताङमा माओवादी केन्द्रको नतिजा शुन्य छ ।

२०७४ मा पालिकाको नेतृत्व माओवादी केन्द्र र कांग्रेसको पोल्टामा गएको महाकुलुङमा यो पटक पालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित बनेका छन् । पालिकाको नेतृत्व हत्याएको कांग्रेसले वडा नं १ र ३ मा जित निकालेको छ भने एमालेले वडा नं २, ४ र ५ जितेको छ ।

मतगणना जारी रहेको सोलुदुधकुण्ड नगरपालिकामा ७ वडाको नतिजा सार्वजनिक भएको छ । वडा नं १ र ४ मा एमालेले जित निकाल्दा कांग्रेसले वडा नं २, ३, १० र ११ मा विजय प्राप्त गरेको छ । नगरको नेतृत्वमा प्रतिस्पर्धाबाट बाहिरिएको नेकपा माओबादी केन्द्रले वडा नं ९ गोराखानी वडामा जित निकालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार