टाक्सिन्दुमा पाँच दिनदेखि जारी शिक्षक तालिम सकियो

  हिमाल समाचार
147 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ स्थित टाक्सिन्दु मा.वि.मा पाँच दिनदेखि जारी आधारभूत तह कक्षा ६–८ को पाठ्यक्रम सम्बन्धी नेपाली र अंग्रेजी बिषयको तालिम सकिएको छ । हिमालयन ट्रष्ट नेपालले गत आयोजनामा शुक्रबारबाट सुरु भएको तालिम मंगलबार सकिएको हो ।

तालिममा सोलुदुधकुण्ड नगरपालिका, खुम्बु पासाङल्हामू गाउँपालिका र माप्यदुधकोशी गाउँपालिकाका १७ वटा आधारभूत विद्यालय तह कक्षा ६–८ का २४ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका बिषय बिशेषज्ञहरुबाट संचालन गरिएको उक्त तालिमको समापनका क्रममा तालिमका सहभागीहरुलाई केन्द्रका निर्देशक गीरमान थापाले प्रमाण पत्र वितरण गर्नु भएको थियो । उक्त अवसरमा बोल्दै निर्देशक थापाले नेपाल सरकारले लागु पाठ्यक्रम विद्यालयमा लागु गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

टाक्सिन्दु मा.वि. व्यवस्थापन समितिका अध्यक्ष आइविर राईको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा टाक्सिन्दु मा.वि. का प्र.अ. प्रेम कट्टेल र हिमालयन ट्रष्ट नेपालका कार्यक्रम व्यवस्थापक ल्हाक्पा तेन्जी लामाले तालिमबाट सिकेका सिपहरुलाई शिक्षकहरुले कक्षाकोठामा प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

हिमालयन ट्रष्ट नेपालका तालिम अधिकृत इश्वरमान राईले संचालन गर्नुभएको समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट शिक्षकहरु जयन्ती शेर्पा र मदन राईले तालिम उपयोगी भएको धारणा राखेका थिए । कक्षा ६–८ को विज्ञान र गणित बिषयको तालिम यही आषाढ ३२ गतेबाट टाक्सिन्दु मा.वि. मा संचालन हुने हिमालयन ट्रष्ट नेपालले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार