दुधकोशी सामुदायिक अस्पताल उद्घाटन : प्रचण्डसहितका नेता सोलु आउने

  हिमाल समाचार
735 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माण गरिएको ५० शैयाको दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी असोज ३ गते औपचारिक उद्घाटन गरि सेवा प्रवाह गर्न लागिएको अस्पतालको अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

उनका अनुसार उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक तथा योजनामन्त्री इन्द्र आङबो सोलुखुम्बु आउने भएका छन् ।

सोही दिन सामुदायिक अस्पतालसहित, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालयको भवन पनि उद्घाटन गर्ने कार्यतालिका छ ।

साथै कार्यक्रममा जिल्लाका संघीय सांसद हेम कुमार राई(सुरविर) लगायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । उक्त अस्पताल भवन १० करोड १० लाख ७२ हजार ७ सय ५३ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो ।

१८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी रौताकुँवर जेभीले २०७६ साल मंसिर २८ गतेबाट निर्माण कार्य सुरु भएपनि कोरोना महामारीका कारण निर्माण कार्यप्रभावित बनेको थियो ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले महायज्ञको आयोजना गरेको थियो । अस्पताल निर्माणका लागि महायज्ञमा देश तथा विदेशमा रहेका नागरिकहरुले सहयोग गरेको बताइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि सोलुखुम्बुसहित छिमेकी जिल्ला खोटाङ, ओखलढुगां लगायतका नागरिकले समेत सहज रुपमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार