सोलु कांग्रेसका ७ जनालाई लिखित स्पष्टिकरण सोधियो, ३० नेता निष्कासित

  हिमाल समाचार
5.5k Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुको अनुशासन समितिले पार्टीका आधा दर्जन बढी नेता कार्यकर्तालाई निर्वाचनमा असहयोग तथा पार्टीको विधान विपरितको गतिविधि गरेको भन्दै लिखित स्पष्टिकरण सोधेको छ ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य र वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्ने तथा पार्टीको विधान विपरित गतिविधि गर्ने विरुद्ध परेको उजुरीको आधारमा जिल्ला अनुशासन समितिले ७ जनालाई लिखित स्पष्टिकरण सोधिएको हो ।

स्पष्टिकरण सोधिएका नेताहरुमा महाधिवेशन प्रतिनिधिदेखि जिल्ला समितिका पदाधिकारी सम्मका रहेको अनुशासन समितिका संयोजक गणेश बस्नेतले जानकारी दिए ।

नेपाली कांग्रेसमा स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तरघात गर्ने नेता कार्यकर्ता उपर उजुरी संकलन गरि केन्द्र तथा प्रदेशमा पठाउन जिल्लास्तरिय अनुशासन समिति गठन गरेको थियो ।

उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि यही माघ १५ सम्मको समय दिएपनि माघ १५ गते केन्द्रले समय बढाएर माघ मसान्तसम्म तोकिएको छ ।
३० नेतालाई पार्टीबाट निष्कासन
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अनुशासन समितिले ३० जना आफ्ना क्रियाशील सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

आईतबार बसेको अनुशासन समितिको बैठकले कांग्रेसको क्रियाशील सदस्य भई स्थानीय, संघ तथा प्रदेशमा अन्य पार्टीबाट उम्मेद्वार भएका १२ जना र अन्य पार्टीमा प्रवेश गरेका १८ जना गरि ३० जनालाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको संयोजक बस्नेतले बताए ।

कारबाही गरिएका नेताहरुमा महाधिवेशन प्रतिनिधिदेखि जिल्ला सचिवका प्रत्यासी सम्मका नेताहरु रहेको अनुशासन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार