सोलुमा यसरी मनाइयो ७४ औँ प्रजातन्त्र दिवस !

  सुस्मा बस्नेत
448 Shares

सोलुखुम्बु – ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस सोलुखुम्बुमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लास्तरीय समारोह समिति सोलुखुम्बुले सल्लेरी क्षेत्रमा सरसफाई तथा बिरामीलाई फलफूल वितरण गरी दिवस मनाइएको हो ।

आज सोमवार जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको संयोजकत्वमा सल्लेरी बजार क्षेत्र सरसफाई गर्नुका साथै जिल्ला अस्पताल फाप्लुमा उपचाररत १६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । सल्लेरी स्थित आवाडाँडाबाट सुरु भएको सरसफाई अभियान नयाँ बजार पुगेर टुङ्गिएको थियो ।

त्यसै गरी फाप्लु अस्पतालका बिरामीहरुसँग भेट गरी उनीहरुको पिडा कम गराउन सान्त्वना दिदै अङ्गुर, सुन्तला, केरा, स्याउ जस्ता फलफूल वितरण गरिएको समन्वय प्रमुख निरौलाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख निरौलाले सहिदले बगाएको रगतबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।

उहाँले निरंकुशता विरुद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरुप मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झना स्वरुप राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरेको बताउनु भयो ।

उक्त कार्यक्रममा सोलु्दुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, नेपाली सेनाका मेजर नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, अन्य कर्मचारीहरु, पत्रकार, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार