पर्यटक एकत्रित गर्ने थलो बन्दै गौरीटाप, नयाँ वर्षमा उर्लिए मानव सागर

  हिमाल समाचार
1.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको गौरीटाप आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । पछिल्ला केही वर्षहरुमा नयाँ बर्षको अवसरमा सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा अवस्थित गौरीटापमा पुग्ने पर्यटकको संख्या उच्च देखिएको हो ।

वि.स २०८१ सालको पहिलो दिन आज अन्दाजी १० हजार भन्दा बढी पर्यटक गौरीटाप क्षेत्र पुगेको गौरिटाप धाम संरक्षक लौरेश्वर बाबाले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, सिन्धुलीसहितका जिल्लाबाट पर्यटकहरु मन्दिर दर्शन तथा दृष्य अवलोकनका लागि सो क्षेत्र पुगेका थिए ।

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी एवं गैरसकारी तहका उच्च ओहोदाका व्यक्तिहरु समेत आज सो क्षेत्र पुगेको स्थानीयले बताएका छन् । कतिपय पर्यटकहरु गौरीटाप धामको दर्शनका लागि सो क्षेत्र पुगेका थिए भने अधिकांश पर्यटक दृष्य अवलोकनका लागि त्यहाँ पुगेको बताइएको छ ।

विश्वका ८ हजार माथिका हिमालहरु नजिकबाट नियाल्न सकिने गौरीटाप क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वकै अग्लो सगरमाथा, नेपालको दोस्रो कञ्चनजंघा, ल्होत्से, मकालु र दोलखाको गौरिशंकर हिमाल गौरीटाप क्षेत्रबाट देख्न सकिन्छ । समुद्रि सतहबाट करिब ३००० मिटरको उचाइमा अवस्थित यस स्थानमा कुहिरो,घाम, हावाको लुकामारी भइरहन्छ ।

जसका कारण एकै ठाउँबाट केही समयको अन्तरालमा फरक–फरक मौसमको अनुभूति प्राप्त गर्न सकिन्छ । त्यसमा थप विश्वका आठ हजारभन्दा अग्ला हिमालको दृश्यावलोकनले दिने स्फूर्ति र रोमाञ्चको बेग्लै मज्जा छ ।

विश्वका अग्ला हिमालमात्रै नभएर तल्लो सोलुखुम्बुका नेचासल्यान, थुलुङ दुधकोशीको काँगेल, खोटाङको ऐसेलुखर्कलगायतको दृश्यावलोकनले अझ प्रफुल्लित र आनन्दको महसुस गराउँछ । उत्तरतर्फ हाँसेको हिमाल र दक्षिणतर्फ लहलहाउँदो धानखेती देखिनु नै यसको मुख्य विशेषता हो ।

फोटो फाइल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार