विपक्षी दलकाे अवरोधपछि प्रदेश १ संसद बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित

  हिमाल समाचार
42 Shares

विराटनगर- प्रदेश १ संसद  बैठकमा विपक्षी दलले अवरोध जारी राखेका छन् । अवरोध खोल्न भन्दै मुख्यमन्त्री शेरधन राईले बैठकअघि आयोजना गरेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष सकिएपछि सुरु भएको वैठकमा अवराेध जारी राखेका हुन् ।

जनता समाजवादी दलका नेता जयराम यादवले प्रदेश सरकार र मुख्यमन्त्रीले सदनमा उठेका मुद्दा सम्बोधनमा वेवास्ता गरेको आरोप लगाउँदै प्रदेशसभामा आउन आग्रह गरे। उनले बोले लगत्तै विपक्षी दलले उठेर विरोध गरेर सदन चल्न नदिएका हुन्।

त्यसपछि उपसभामुख सरस्वती पोखरेलले प्रदेश सभा बैठक आगामी वैशाख ५ गतेसम्मका लागि स्थगनको घोषणा गरेकी थिइन्। आजसहित सदन अवरोध भएको यो तेस्रो पटक हो।

संसदमा मुख्य विपक्षी नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका दलले यो वर्षका स्वीकृत कार्यक्रमहरु सुचारु गर्न, चालु विकास आयोजनालाई निरन्तरता दिन माग गर्दै आएका छन्।

त्यस्तै अलपत्र रहेका वहुवर्षे विकास आयोजनालाई निरन्तरता दिन पनि विपक्षीले माग गर्दै आएका छन्। बजेट अभावको कारण देखाएर ती सबै आयोजना रोकिएको भन्दै त्यसको निरन्तरताको माग गर्दै उनीहरुले प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका छन्।

यसअघि मुख्यमन्त्रीले आयोजना गरेको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले विपक्षीको जवाफ सदनमा दिने र त्यसको वातावरण बनाउन आग्रह गरेका थिए। तर, विपक्षीहरुले समस्या समाधानको निश्चितता बेगर सदन चल्न नदिने बताएपछि बैठक निष्कर्ष बेगर नै सकिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार