नेपालका नदीमा पानी जहाज चलाउन सम्भव तर भएन प्रगति

  हिमाल समाचार
0 Shares

काठमाडौँ- नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन सम्भव देखिएको छ ।
पानीजहाज कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा सम्भाव्यता अध्ययन गरिएको जानकारी दिए  । आर्थिक वर्ष २०७७/७८ मा सो अध्ययन सम्पन्न भएको हो ।

कोसी, काली र गण्डकीको सम्भाव्यता अध्ययन परामर्शदाता पीएमएस/रिती/आई इस (संयुक्त)ले गरेको थियो । त्यसैगरी नारायणी र कर्णाली नदीको अध्ययन मल्टी कन्सल्टेन्सी सर्भिसले गरेको थियो । परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसकेका छन् । गत आर्थिक वर्षको असारमा अध्ययन सम्पन्न भएको थियो ।

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिने उद्देश्यसहित स्थापित नेपाल पानीजहाज कार्यालय स्थापना भएको तीन वर्ष बित्न लाग्दा पनि यस क्षेत्रमा अपेक्षित रूपमा काम अगाडि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनास्थित नेपाल पानीजहाज कार्यालय उद्घाटन गरेका थिए ।
उद्घाटनसँगै यहाँका नदी र विदेशको समुद्रमा नेपाली झन्डावाहक पानीजहाज चलाउने पाँच दशक पुरानो धोको पूरा हुने आशा गरिए पनि कार्यालयले सोअनुसारको काम अगाडि बढाउन सकेको छैन ।

२०२७ सालमै नेपालका नदीहरूमा पानीजहाज सञ्चालनको सम्भावनाबारे अध्ययन गरिएको थियो । कार्यालय उद्घाटन भएको तीन वर्ष बित्न लाग्दा पनि कार्यालयमा आवश्यक कर्मचारी र जनशक्तिको समेत व्यवस्था हुन सकेको छैन । नेपाल पानीजहाज कार्यालयले तीन वर्षको अवधिमा नयाँ पानीजहाज सञ्चालन ऐन तथा नियमावलीको मस्यौदा निर्माणबाहेकको काम अगाडि बढाउन सकेको छैन । २०७५ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार